जनता टाइम्स

२३ पुष २०७६, बुधबार ०९:१५

दैलेखमा पेट्रोलियम अन्वेषण : दुई लाइनको सेस्मिक सर्भे सम्पन्न, चट्टान परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त


दैलेख, पुस २३ । दैलेखको श्रीस्थान, नाभिस्थान, पादुकालगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा खनिएका १० वटा सेस्मिक लाइनहरु मध्ये दुई लाइनमा सर्भे सम्पन्न भएको छ । अन्बेषणका लागि तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका गरी १० वटा सेस्मिक लाइन मध्ये उत्तर दक्षिण दिशाका दुई वटा लाइनमा सर्भे सम्पन्न भएको खानी तथा भूगर्भ बिभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताउनु भयो ।

उहाँले दुईवटा लाइनमा सेस्मिक अनुसन्धान कार्य सम्पन्न भएको र बाँकी आठ वटा लाइनमा माघ मसान्तसम्म सर्भे सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । दैलेख जिल्लाको मुख्यतया दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई बिशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुँगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर १० वटा सेस्मिक लाइनमा जम्मा २०० किमी लाइन सर्भे गर्न ४ सय बर्गकिमी भूभाग समेटेर सर्भे गरिरहेको छ ।

अन्वेषणका लागि पेट्रोलियम जियोलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरी महत्वपूर्ण मानिएको सेस्मिक सर्भे हो । यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरु जमिनको सतहमुनिको धेरै गहिराईसम्म पठाएर सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड राख्ने र रेकर्ड गरिएका बिभिन्न गहिराईबाट पराबर्तन भई आएका तरङ्गहरुको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गहरुहको सुक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गर्ने कार्यको ४० प्रतिशत काम सम्पन्न भएको भूगर्भबिद् त्रिपाठीले बताउनुभयो ।

उहाँले यसक्षेत्रमा चिनियाँ प्राबिधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राबिधिक टोलीले आफूलाई जानकारी गराएको र जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अन्बेषण तथा अनुसन्धानबाट पनि देखिएको छ । सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्नसक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाले दैलेखमा पेट्रोलियमको भण्डार हुनसक्ने बलियो सम्भावना भएको जानकारी उहाँले दिनुभयो ।

अन्बेषणका लागि तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका गरी १० वटा सेस्मिक लाइनमा सर्भे कार्य सम्पन्न भए पछि चिनियाँ प्राबिधिक टोली चीन फर्कने र त्यसको नतिजा आउनसाथ मुख्य काम सुरु गर्ने उहाँले जनाउनुभयो ।