जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार ०९:१८

अवैध उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या !


धनुषा, पुष २५

मिथिला नगरपालिकामा आज बिहान एक युवकको हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका स्थानीय २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको घटनास्थलको प्रकृति हेर्दा देखिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताउनु भयो । उहाका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेको देखिन्छ ।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन् । टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । युवकको हत्या विरोधमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन् । स्थानीयका अनुसार हत्या गरिएका युवक भारतमा ईन्जिनियरिङ पढ्दै थिए।

दीलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननको विरोध गर्दै आएका थिए। सोही कारण क्रसर सञ्चालकले उनको नियोजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन् ।