जनता टाइम्स

२६ पुष २०७६, शनिबार ०६:०६

पुनर्निर्माणका काम सन्तोषजनक, बाँकी काम छिटो सक्ने गरी अघि बढाउन परामर्श परिषदले दियो यस्तो सुझाव


काठमाडौं, पौष २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को बैठकले पुनर्निर्माणका कार्यहरु सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी काम गर्न सुझाव दिएको छ ।

बैठकको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री एवं परामर्श परिषद्का अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणका कार्य प्रगति सन्तोषजनक भएको र देखिएका समस्याहरुलाई समाधान गर्दै बाँकी काम सकेसम्म छिटो गर्न प्राधिकरणलाई सुझाव दिएको बताउनुभयो ।

बैठकले भूकम्पपछिको राहत, उद्धार र पुनर्निर्माण बारेका सिकाई र अनुभवहरु अहिलेका पुस्तामा सचेतना जगाउन र भावी पुस्तालाई जानकारी दिनका लागि संरक्षित र सुरक्षित गर्न पनि सुझाव दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माणका सिकाई र अनुभव बाँडनका लागि आगामी वर्ष नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपदको क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको जानकारी दिनुभयो ।

उहाँले समस्या र जटिलताहरुलाई समाधान गर्दै पुनर्निर्माण अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी रुपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, स‌ंगठीत संस्थाहरुलाई परिचालन गर्न, स्थानीय र प्राविधिकहरुलाई अझ सकृय पार्न सुझाव दिनुभयो । सांसद अग्नि सापकोटाले धरहरा उठ्दै गरेकाले थप आशा जगाएको भन्दै पुनर्निर्माणका धेरै क्षेत्रमा काम भएको बताउनुभयो । उहाँले स्थानीय तहसँग समन्वय गरी गुनासाको सम्बोधन गर्न, सम्पदा पुनर्निर्माण, पुस्तकालय पुनर्निर्माण, विश्व विद्यालय पुनर्निर्माणमा जोड दिन सुझाव दिनुभयो ।

सांसद यज्ञराज सुनुवारले पुनर्निर्माणका कार्य उत्साहजनक रुपमा अघि बढेको भन्दै पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिनुभयो । उहाँले निजी आवास पुनर्निर्माणमा ओखलढुङ्गा अग्रस्थानमा रहेको उल्लेख गर्दै एकीकृत बस्ती पुनर्निर्माणमा आकर्षण बढाउन सरकारले पूर्वधार विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सांसद सुनुवारले विद्यालय राम्रा बनेकोमा प्रशंसा गर्दै खानेपानी, पुल, प्रवलीकरण, गुनासो सुनुवाई लगायतमा ध्यान दिन सुझाव दिनुभयो ।

सांसद प्रेम सुवालले भक्तपुरको कला संग्रहालय नेपाली शैलीमा बनाउनका लागि सहयोग गर्न प्राधिकरणलाई आग्रह गर्दै निजी आवास पुनर्निर्माणको अनुदान र सहुलियत ऋण बढाउन आग्रह गर्नुभयो । सांसद पम्फा भुसालले पुनर्निर्माणका राम्रा कामप्रति धन्यवाद दिँदै व्यवहारिक रुपमा स्वबासी र गुठीको समस्या अझै रहेको बताउनभुयो ।उहाँले ललितपुरमा देखिएको समस्या समाधानका लागि विशेष कार्यदल बनाएर काम गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

सांसद विरोध खतिवडाले प्रवलीकरण र स्वास्थ्य संस्थाहरु पुनर्निर्माणको संख्या कम भएको भन्दै त्यसको कारण दिन आग्रह गर्नुभयो । सांसद हितबहादुर तामाङले व्यवहारिक रुपमा भिन्नु भएका तर लालपूर्जा नबनेका कारण लाभग्राही हुन नसकेका भूकम्पपीडितलाई सम्बोधन गर्न सुझाव दिनुभयो । त्यस्तै, सांसद हरि राज अधिकारीले गोरखाको एउटा वस्ती जोखिममा रहेकोले त्यसको स्थानान्तरणका लागि प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।

परामर्श परिषद्को बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको वर्तमान अवस्था र कार्ययोजना पेश गर्नु भएको थियो ।उहाँले निजी आवास पुनर्निर्माण अन्तर्गत ६२ प्रतिशत पूरा भएको, द्दछ प्रतिशतको पुनर्निर्माण जारी रहेको र १७ प्रतिशत पुनर्निर्माण सुरु हुन बाँकी रहेको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणबाट सुरक्षित नेपालका लागि आधार तयार भएको, भूकम्प प्रतिरोधी प्रविधिको विकास र प्रविधि हस्तान्नरण भएको, मागमा आधारित एकीकृत बस्तीहरुको पुनर्निर्माण र बसोबासको सुनिश्चता भएको बताउनु भएको थियो । उहाँले अनुदान वितरणमा पारदर्शिता भएको, स्थानीय समुदायको आत्मविश्वास बढेको, स्थानीय तहको संलग्नता र स्वामित्व रहेको बताउँदै गुनासो दर्तामा अशंवण्डा र गलत विवरण भर्ने, लाभग्राहीहरु प्रवलीकरणतर्फ आकर्षित हुन नसकेको, शहरी क्षेत्रको पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको लगायतका चुनौती रहेको जानकारी गराउनु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भावी योजनाअन्तर्गत छनौट मापदण्डमा कडाइ र पुनरावेदनमा सहजीकरण, प्रवलीकरणमा थप प्रोत्साहन, शहरी क्षेत्रको पुनर्निर्माणमा स्थानीय तहलाई थप सहयोग र परिचालन गर्ने जानकारी गराउनु भएको थियो । बैठकमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, परामर्श परिषदका उपाध्यक्ष विजयकुमार गच्छदार, मन्त्रीहरु लगायत उपस्थित हुनु हुन्थ्यो ।