जनता टाइम्स

२६ पुष २०७६, शनिबार ०७:३८

हिमपात र वर्षाले चिसो बढेपछि हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दाको जनजीवन कष्टकर


सुर्खेत, पुस २६ ।  एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ भने पहाडी जिल्लामा दैनिक वर्षा भइरहेको छ ।

हिमपात र वर्षाले चिसो बढ्दै गएपछि कर्णालीको जनजीवन प्रभावित बन्दै गएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दा यसबाट बढी प्रभावित भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको बताउनुभयो । सहायक प्रजिअ हमालका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ । हिमपातले दुई दिनदेखि साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध छ ।

लेकको हिमपात र बेंसीको वर्षाले लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात एक सातादेखि ठप्प छ । हिमपातको चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

जुम्ला चन्दननाथ– ८ का स्थानीय यज्ञलाल महतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी राख्न धौधौ भएको बताउनुभयो । “धारोबाट पानी पगाल्न पानी तताएर पाइपमा खन्याउनुपर्छ तर तताएर हाल्ने पानी छैन”, महतले भन्नुभयो । बजारमा दाउरा नपाइने र सिलिन्डरको ग्यास चिसोले जम्न थालेपछि हातमुख जोर्न कठिन भएको उहाँको भनाइ थियो ।

जाडो मौसममा वर्षेनी हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका– ३ जुम्लाका स्थानीय नरबहादुर रावतले  बताउनुभयो । हिमपातले बिस्कुन सुकाउन, पिठो पिस्न, बस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उहाँको भनाइ थियो ।

चिसोले दैलेख, कालीकोट, जाजरकोट उच्च स्थानका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिममा वर्षाले यहाँका शैक्षिक संस्था प्रभावित भएका छन् । चिसोले सेवाग्राहीले सेवा लिन पाएका छैनन् । कर्मचारीले भने आगो बालेर कार्यालय खुला राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घर बाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस ३ डिग्री सेल्सियस छ । हिमपातको समयमा गरीब घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो । यो समयमा भाइरल रुघाखोकी, निमोनिया, दमको रोगको समस्या हुने भन्दै निर्देशक डा रावलले तातोपानी खान, न्यानोमा बस्न, बिरामीलाई नियमित झोलिलो तातो चीज खान आग्रह गर्नुभयो ।

पश्चिमी न्यूनचापीय प्रणाीलको प्रभावका कारण भएको हिमपात तथा वर्षा शनिबार रोकिए पनि सोमबार पुनःशुरु हुनसक्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो । कार्यालय प्रमुख पराजुलीका अनुसार आज केही भागमा आंशिक बदली भए पनि मौसम सफा रहनेछ ।