जनता टाइम्स

२६ पुष २०७६, शनिबार ०९:१७

उपसभामुखको त्यो अडानले झस्किए ओली-प्रचण्ड


काठमाडौं, पुस २६ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने निर्णय लिन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई आग्रह गर्नुभएको छ ।

संसद अधिवेशन आह्वान भइसकेपछि पनि लामो समयसम्म नेकपाले सभामुखबारे निर्णय नलिएपछि उपसभामुख तुम्बाहाम्फेले महाअभियोग लगाएर हटाउन वा आफूलाई सभामुख बनाउने निर्णय लिने बिकल्प रोज्न अध्यक्षद्वय ओली र प्रचण्डलाई सुझाउनु भएको हो । शुक्रवार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डलाई एकसाथ छलफल गर्नुभएकी तुम्बाहाम्फेले आफ्नो लामो राजनीतिक पृष्टभुमीसहित कडा सर्त राखेपछि दुवै नेता झस्किनुभएको स्रोतले जनाएको छ ।

‘मलाई सभामुख उम्मेदवार बनाउने निर्णय गर्नुस, राजीनामा दिन्छु भन्ने कुरालाई सहज रुपमा अध्यक्षद्वयले लिनुभएको छ तर उम्मेदवार नबनाएर उपसभामुखकै हैसियतमा सभामुख निर्वाचन थाल्छु र सभामुख नेकपाले गुमाउछ भन्नेदेखि संविधानअनुसार मलाई महाअभियोग ल्याएर हटाउनुस भन्ने अडानले उहाँ जब्बर हुनुहुँदोरहेछ भन्ने निचोड निकाल्नुभएको छ दुवै अध्यक्षले,’ नेकपाका एक नेताले जनताटाइम्ससँग भन्नुभयो । ती नेताका अनुसार दुवै जनाले प्रस्ताव गर्दा उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेमा ओली प्रचण्ड बिश्वस्थ हुनुहुन्थ्यो । तर तात्कालिन सभामुख कृष्णबहादुर महराको अपराधको सजाय आफूले भोग्न नसक्ने भन्दै कडा रुपमा तुम्बाहाम्फे प्रस्तुत हुुनुभएको छ ।

शुक्रवारको छलफलमा तुम्बाहाम्फेले आफ्नो राजनीतिक बायोडाटासमेत राख्नुभएको छ । २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागीभएको, अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पूरा गरेको भन्दै आफू सभामुखको दावेदार कोही भन्दा जुनियर नहरेको तुम्बाहाम्फेको अडान छ ।