जनता टाइम्स

२६ पुष २०७६, शनिबार १०:५२

बिप्लव नेकपामा आउनैपर्ने अध्यक्ष प्रचण्डको निश्कर्ष


काठमाडौं, पुस २६ । प्रतिवन्धित नेत्र विक्रम चन्द, बिप्लव समूहका पोलिटव्यूरो सदस्य मोहन कार्की ‘जिवन्त’ नेकपा प्रवेश गर्नुभएको छ । नेकपाको मुख्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले कार्की लगायतको समूहलाई नेकपामा स्वागत गर्नुभयो ।

विगतमा नेकपा माओवादी केन्द्रमा केन्द्रीय सदस्यको रुपमा रहेका कार्की पछिल्लो चरणमा माओवादीको विभाजन संगै विप्लव समूहमा लाग्नुभएको थियो । जनयुद्दको पछिल्लो कालखण्डमा उहाँ उपत्यकामा कार्यरत हुनुहुन्थ्यो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले साना–साना समूह बनाएर बसेका कम्युुनिष्ट घटकहरु एक दिन एक्कै ठाउँमा आउने बताउनुभयो । समाजवादको नयाँ मोडलको खोजी गरेर देशलाई समाजवादतर्फ लैजाने सवैको साझा जिम्मेवारी भएको बताउदै अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द लगायतका नेताहरु समेत ढिलो चाँडो कम्युनिष्ट मूलधारमा आउने विश्वास व्यक्त गर्नुभयो ।

बिप्लवलाई नेकपामा आउने त्यो वातावरण आफूहरुले बनाउने प्रतिवद्धता पनि उहाँले जनाउनु भयो । अहिले प्राप्त भएको उपलव्धीलाई सानो रुपमा नआँक्न आग्रह गर्दै प्रचण्डले यसैका आधारमा थप उपलव्धीका लागि सवै कम्युनिष्ट एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । नेपालको राजनीतिक एकता, स्थायीत्व र नेपालीको विकास र समृद्धिसँग नेकपाको एकता जोडिएको चर्चा गर्दा अध्यक्ष प्रचण्डले विकास र समृद्धिको अभियानमा लाग्न पार्टी एकताले बल दिएको निश्कर्ष पनि सुनाउनु भयो ।