जनता टाइम्स

२७ पुष २०७६, आईतवार ०७:५७

धनुषा हत्या प्रकरण : यसरी सुनियोजितरुपमा गरिएको थियो ओमप्रकाशको हत्या


धनुषा पुस २७ । मिथिला नगरपालिकाको औरही खोलामा भइरहेको अवैध बालुवा, गिट्टी उत्खननको विरोध गर्ने युवा अभियन्ता (ओमप्रकाश) भनिने दिलिपकुमार महतोको निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाको रुप दिन टिप्परले किचिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

शुक्रबार बिहान बालुवा उत्खनन भइरहेको छ भनि अभियन्ता दिलिपलाई उनको साथी रोशनमार्फत औरही खोलामा सुनियोजितरुपमा बोलाइ कुटपिट गरी हत्या गरेर घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिप्परले किचिएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।

उहाँले भन्नुभयो, अवैध बालुवा, गिट्टी उत्खनन गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर सञ्चालकलाई करोबार गर्न समस्या भइरहेको थियो । त्यसको समाधानका लागि योजनाअनुसार रोशनमार्फत दिलिपलाई बिहानै ४ बजे खोलामा बोलाएर आरोपितहरुले कुटपिट गरी सिकिस्त बनाएको, फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरेको र घटनालाई दुर्घटनाको रुप दिन टिप्पर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको हो ।

घटनापछि स्थानीयको सहयोगमा आफन्तजनले घटनाको दिन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्याससमेत प्रहार गरेको थियो ।

प्रहरीले बिना मुचुल्काको शव उठाएको भन्दै स्थानीय र आफन्त आक्रोशित भएका थिए । त्यसपछि प्रहरीले आरोपितहरु पक्राउ परिसकेको र उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पश्चात पीडितहरुको जाहेरीपछि शनिबार बेलुका शवको पोष्टमार्टम भएको छ । पोष्टमार्टमपछि पीडित परिवारले शव बुझिसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।