जनता टाइम्स

२७ पुष २०७६, आईतवार ०९:२०

भक्तपुरमा खुर्पा प्रहार गर्दै हिँड्दा दुई प्रहरीसहित चार जना घाइते


काठमाडौं, पुस २७। भक्तपुर नगरपालिका १० मा एक व्यक्तिले अन्धाधुन्ध खुर्पा प्रहार गर्दै हिँड्दा दुई प्रहरीसहित चार जना घाइते भएका छन् ।

जाजरकोटको नलगाढ नगरपालिका १ बस्ने २० वर्षीय राम बहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका १० घर भइ भक्तपुर नगरपालिका १० को कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र ४५ वर्षीया राजमती ज्याकी बन्जार घाइते भएका छन् ।

त्यसैगरी महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र प्रसाद यादव र प्रहरी जवान टोल बहादुर श्रेष्ठ पनि घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

खुर्पा प्रहार गरेर भाग्दै गरेका विकलाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा २ झ १८५ नम्बरको प्रहरीको सीआरभी भ्यानको सिसा फुट्नुको साथै सञ्चार बेस सेटमा समेत क्षति पुगेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत तथा प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो । घाइते भएकी थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीको नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकी बन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।