जनता टाइम्स

२७ पुष २०७६, आईतवार १५:०२

ए डिभिजन लिगमा फ्रेन्डसको पहिलो जित


काठमाडौं, पुस २७

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्डस क्लबले पहिलो जित गरेको छ । छैटौं चरणको खेलमा थ्रिस्टारमाथि १–० को नतिजा निकाल्दै फ्रेन्डसले लिगमा पहिलो जित दर्ता गरेको हो । फ्रेन्डसको जितमा विदेशी खेलाडी वागनर डि कार्मोले निर्णायक गोल गरेका थिए । रंगशालामा भएको खेलमा फ्रेन्डसले १३ औं मिनेटमा अग्रता लिएको थियो ।

शीर्ष स्थानका लागि संघर्षरत थ्रिस्टारले बाँकी समय आक्रामक खेले पनि गोल गर्न नसक्दा लिगमा दोस्रो हार बेहोरेको हो । जितसँगै फ्रेन्डसले लिगमा ५ अंक जोडेको छ । यसअघि फ्रेन्डसले ३ खेलमा हार र २ खेलमा बराबरी खेलेको थियो । पराजित थ्रिस्टारले यसअघिका ३ खेलमा जित र १ मा बराबरी र १ खेलमा हार बेहोरेको थियो ।