काठमाण्डौ ।
अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ ।
बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भैसकेको छ । सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्षभित्र १ लाख भन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागिएको हो ।
बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय गरिसकेको छ । यस आर्थिक वर्षमा सय दिन रोजगारी उपलब्ध गराउन नसकिएकाले एक महिनाको लागि मात्रै रोजगारी दिने गरी बजेट पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस्