जनता टाइम्स

२९ पुष २०७६, मंगलवार ०७:०१

भारतीय ठेकेदारको कारण लम्बिने भयो माथिल्लो तामाकोसीको निर्माण समयावधि


दोलखा, पुस २९ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले आयोजनाको काम पछि धकेलिने भएको छ ।

आयोजनाको सबैभन्दा कठिन मानिएको ३७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३१० मिटरको माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काममा ढिलाइ भएसँगै तामाकोसी आयोजनाको उत्पादन मिति पनि पछि धकेलिने भएको हो । पटक–पटक विद्युत् उत्पादनको कार्यतालिका संशोधन गर्दै आएको यो आयोजनाले चैत अन्तिममा पहिलो युनिट र चालू वर्षभित्र छवटै युनिटबाट उत्पादन थाल्ने भनिए पनि भर्टिकल सुरुङमा पेनस्टक राख्ने काममा ढिलाइ भएकै कारण आयोजना फेरि कार्यतालिका संशोधनको बाध्यात्मक अवस्थामा पुगेको हो ।

करिब पाँच महिनाको प्रयासपछि गत असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न सफल भएकोमा पुस चौथो सातासम्ममा तल्लो भर्टिकल साफ्टमा १९० मिटर र माथिल्लोमा ९० मिटर पाइप जडान सकिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । सात महिनाको अन्तरालमा २८० मिटर पेनस्टक पाइप जडान गर्न सफल आयोजनाको काम यही गतिमा अघि बढ्ने हो भने बाँकी ४०३ मिटर मिटरको भर्टिकल सुरुङको काम सक्न अझै एक वर्ष लाग्छ तर जडानका क्रम बढ्दै जाँदा कामको गति पनि बढ्ने प्रवक्ता न्यौपानले दाबी गर्नुभयो ।

हालसम्म अस्ट्रियन कम्पनी एन्ड्रिजले तल्लो भर्टिकल साफ्टमा ५० दशमलव ९ प्रतिशत पेनस्टक जडान सम्पन्न गरेको छ भने भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो भर्टिकल साफ्टमा २९ दशमव ३ प्रतिशत मात्र पेनस्टक जडान सम्पन्न गरेको छ । दुवै कम्पनीले गरी कुल जडान गर्नुपर्ने ६८३ मिटर पेनस्टक पाइपमा हालसम्म ४० दशमलव ९ प्रतिशतमात्र पेनस्टक जडान सम्पन्न गरेका छन् । पाँच मिटर लम्बाइ र २७ टन तौलसम्मका पेनस्टक पाइप ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गर्दै आएको छ ।

भारतीयको काम सुस्त

तामाकोसी आयोजनाको लट नम्बर २ को हाइड्रो मेकानिकल कामको जिम्मेवारी पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक जडानको काममा समेत ढिलाइ गरेको छ । पेनस्टक पाइप राख्ने भर्टिकल सुरुङ लट नम्बर १ को चिनियाँ ठेकेदार सिनो हाइड्रोले २०७२ सालको भूकम्पअघि नै सकाएको भए पनि पेनस्टक पाइप ल्याउने र जडान गर्ने जिम्मा पाएको टेक्सम्याको रेल्वे इन्जिनियरिङले कामको गति बढाउन नसक्दा माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप जडानमा ढिलाइ भएको हो ।

टेक्सम्याकोले यसअघि पनि भूकम्प, खाडीचौर–चरीकोट सडकलगायका कारण देखाइ पेनस्टक पाइप ढुवानीमा नै ढिलाइ गरी आयोजनालाई पछि धकेल्न बाध्य पारेको थियो । तामाकोसी आयोजनाले उक्त कार्य अघि बढाउन लट नम्बर ३ का ठेकेदार एन्ड्रिज हाइड्रो तथा लट नम्बर २ को हाइड्रो मेकानिकलको ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङसँग त्रिपक्षीय सम्झौता गरी ३७३ मिटरको तल्लो ठाडो सुरुङमा पाइप राख्ने कामको जिम्मा लट नम्बर ३ का ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिने सहमति गरेका थियो । सँगै काम सुरु गरेको एन्ड्रिजले ५० दशमलव ९ प्रतिशत पेनस्टक जडान सम्पन्न गर्दा टेक्सम्याको रेल्वे इन्जिनियरिङले २९ दशमलव ३ प्रतिशतमात्र जडान गरेको छ ।

समग्रमा माथिल्लो तामाकोसी आयोजनको ९९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको बाँधस्थलको काम सम्पन्न भइसकेको छ भने मुख्य सुरुङमा कङ्क्रिटिङको काम अन्तिम चरणमा पुगेको छ । सुरुङ मार्गमा ग्राउटिङको काम भइरहेको छ । विद्युतगृहको काम अन्तिम चरण पुगेको छ । प्रसारण लाइनअन्तर्गतको १२७ वटा टावरसहित ४७ किलोमिटरको तार तान्ने काम सम्पन्न भएको आयोजनाका प्रवक्त न्यौपानेले जानकारी दिनुभयो । चारवटा मल्टि सर्किट टावर भने बन्न बाँकी छ ।

ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने ब्याज, प्रशासनिक खर्चलगायतका कारण ब्याजसहित ४९ अर्ब रुपियाँको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ७२ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।