जनता टाइम्स

२९ पुष २०७६, मंगलवार १९:०८

यसरी निकालिएछ कृषि विकास बैंकबाट ४ करोड


काठमाडौं, पुष २९

कृषि विकास बैंक, न्युरोड शाखाको चार करोड हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन कर्मचारी दीपिका रेग्मीसहित आठ जनाविरूद्ध आयोगले मंगलबार मुद्दा दायर गरेको हो । मुद्दा दायर हुने अन्यमा प्रेमहरि ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानी रहेका छन् ।

आरोपीमध्ये रेग्मी, ढुंगेल र विष्टलाई जनही चार करोड ४२ लाख ७३ हजार ६११ रूपैयाँ बिगो मागिएको छ । घतानीलाई दुई करोड ६७ लाख ७५ हजार ४३५, गिरीलाई दुई करोड ६१ लाख १९ हजार ४१५ बिगो दावी माग गरिएको छ । यस्तै, रेग्मीसँग एक करोड १० लाख ३३ हजार १९६, मरहठ्ठासँग ६७ लाख २१ हजार र पाण्डेसँग चार लाख रूपैयाँ बिगो मागिएको छ ।

आपसी मिलेमतोमा बैंक, बैंकिङ मुख्य शाखा कार्यालय, न्युरोडबाट अनधिकृत रुपमा रकम निकालेर लिने र खाई मास्ने उद्देश्यले उनीहरूले भ्रष्टाचार गरेको अभियोग पुष्टि भएको आयोगले जनाएको छ ।

अख्तियारको विज्ञप्ती :

निज प्रेमहरी ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दिपिका रेग्मीले गरेको अनियमितता आफूसमेत संलग्न रहि उक्त रकम बाँडिचुँडी खाईमासी बैंकलाई हानिनोक्सानी पुर्‍याई तथा बैंकमा बिभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका Account Payee Cheque हरु ECC का माध्यमवाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरी सोही चेकहरुमा भएको विवरणहरु सच्याई गलत प्रतिवेदन पठाई एक पटक प्रयोग भई सकेको चेकलाई पुन: प्रयोग गरी दिपिका रेग्मीले Authorize का लागि गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे समक्ष पेश गरेकोमा निजहरुले पुन: प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजातहरु मात्रैका आधारमा उक्त चेक सदर गरेको देखिएवाट यी सबै व्यक्तिहरुको मिलेमतोमा राष्ट्र बैंकको निर्देशिका विपरित चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरी कृषि बिकास बैंकलाई रु.४,२४,१३,६११।४५ (चार करोड चौविस लाख तेह्र हजार छसय एघार रुपैयाँ पैंतालिस पैसा) नेपाल सरकारलाई हानिनोक्सानी गरेको पुष्टि हुन आएको छ ।