जनता टाइम्स

२९ पुष २०७६, मंगलवार १९:२६

मन्त्री बाँस्कोटाको एक्शनले बन्ने भयो बाजेबज्यै पार्क


काठमाडौं, पुस २९ । सहरी विकास मन्त्रालयले काठमाडौंको धोबीखोला किनारस्थित खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने योजना अघि सारेको छ । सरकारको प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो मन्त्रालयको कार्यभार सम्हाल्नु भएपछि यस्तो योजना अघि सार्नुभएको हो ।

मन्त्री बाँस्कोटाले सो मन्त्रालयमा पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गर्नुभएको हो । बुद्धबृद्धाका लागि यस्तो पार्क जरुरी रहेको निश्कर्षका साथ मन्त्री बाँस्कोटाले पदबहालीमै सो निर्णय लिनुभएको हो । नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो । मन्त्री बाँस्कोटाका अनुसार सो पार्क ज्ञान केन्द्रका रूपमा रहनेछ । ‘कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो ।

नेपालमा अहिलेसम्म ज्येष्ठ नागरिकका लागि छुट्टै विश्रामस्थल नभएकाले ‘बाजेबज्यै पार्क’ निर्माण गर्न लागिएको उहाँको भनाइ छ । ‘निर्माणका लागि हामीसँग जग्गा छ, अबका केही दिनमै निर्माण प्रक्रिया अघि बढाइनेछ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । मन्त्री बाँस्कोटाका अनुसार सहरी क्षेत्रमा आमाबाबु दुवै व्यस्त हुँदा सन्तानको हेरचाहका लागि हेरचाह केन्द्र निर्माण गर्ने योजना पनि सरकारको रहेको छ । मन्त्री बाँस्कोटाले युवायुवतीलाई मनोरञ्जनका लागि युवा लक्षित पार्क निर्माण गर्ने जानकारी पनि दिनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा युवा वर्गलाई नाँच्ने, गाउने गर्दै रमाइलो गर्न पार्क निर्माण गर्न लागिएको उहाँको भनाई छ ।

खुला रङ्गमञ्चका रूपमा निर्माण हुने पार्कमा युवा एकअर्कामा अन्तरघुलित हुने विश्वास मन्त्री बाँस्कोटाको रहेको छ । ‘अहिले युवा एकअर्कालाई फेसबुक र ट्वीटरमार्फत चिने पनि त्यो मान्छेको स्वर कस्तो छ समेत थाहा छैन, त्यो हटाउन पनि यो पार्कको महत्व छ,’ आफूले गर्न लागेको कामबारे जानकारी दिँदै मन्त्री बाँस्कोटाले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्रै सञ्चारमन्त्री बाँस्कोटालाई सहरी बिकाश मन्त्रालयकोसमेत कार्यभार तोक्नुभएको थियो ।