जनता टाइम्स

१ माघ २०७६, बुधबार ०७:२६

ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना गर्दै कामनपा, मेयर शाक्यले जनाए यस्तो अठोट


काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८४ करोड २१ लाख रुपैयाँ बजेट संशोधन गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न छैटौँ नगरसभाले भौतिक पूर्वाधार विकास कार्यक्रमतर्फ ४५ करोड ६० लाख रुपैयाँ, सम्पत्ति खरीदतर्फ २७ करोड रुपैयाँ, सामाजिक विकास कार्यक्रमतर्फ एक करोड ६७ लाखसहित ६ शीर्षकको रकम संशोधन गरेको हो ।

संशोधित बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रमतर्फ आठ करोड ४४ लाख, शिक्षातर्फ ५० लाख र चालु खर्चतर्फ एक करोड रुपैयाँ संशोधन भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकम घटाएर तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा थपिएको हो ।

यसरी बजेट थप गरिएका कार्यक्रममा वडास्तरीय पूर्वाधार विकास, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगर विशेष पूर्वाधार कार्यक्रमलगायत छन् । त्यस्तै वडा नं २३ र ३० को कार्यालय भवनका लागि जग्गा तथा भवन खरीद, वडा नं १६ को भवन निर्माण, पार्किङ भवन निर्माण, ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना, विद्यालयमा कम्प्युटर ल्याब र विद्युतीय व्यवस्थापन प्रणाली स्थापनालगायत कार्यक्रम छन् ।

यसैगरी कान्ति बाल अस्पतालमा रगतको कम्पोनेन्ट छुट््याउने उपकरण खरिद, गंगालाल अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा सञ्चालन, सामुदायिक स्वास्थ्य क्लिनिकको स्तरोन्नति लगायतका कार्यक्रम पनि शंशोधित बजेटमा परेको छ । सभामा लेखा समितिका संयोजक ध्रुव त्रिपाठी, बिधायन समितिका संयोजक नरेशमान महर्जन र शुशासन समितिक संयोजक हुमादेवी आचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कामपालाई सुशासनयुक्त बनाउन छरिएका कार्यालयहरुलाई एकै ठाउँमा बनाउनु पर्ने शुशासन समितिकी संयोजक आचार्यले बताउनुभयो ।

समितिका संयोजकले देखाएको आवश्यकता र प्राप्त सुझाव कार्यान्वयनका विषयमा जवाफ दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले प्रतिवेदनका विषय अध्ययन गरेर कार्यान्वयनमा लैजान सकिने सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो । वडा नं ७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले फुटपाथ व्यवस्थापनलाई समन्वयात्मक रुपमा नियमन गरिनुपर्ने बताउनुभयो । वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले वडा भवन निर्माणका लागि सबै एक मत भएर पनि काम नभएको प्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गीले सार्वजनिक शौचालय निर्माण सञ्चालन र व्यवस्थापनका लागि कार्यपालिकाको बैठकले आफूलाई जिम्मेवारी दिएको जानकारी गराउँदै सबै जनप्रतिनिधिलाई आफ्नो वडामा देखिएका आवश्यकता आफूलाई जानकारी गराउन र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो ।