जनता टाइम्स

१ माघ २०७६, बुधबार ०७:४२

माघीमा प्रचण्डको शुभकामना : आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास


काठमाडौं, माघ १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले माघी पर्वले नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास ब्यक्त गर्नुभएको छ । माघीको अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले सो धारणा राख्नुभएको हो ।

यस्तो छ शुभकामना सन्देश

थारु, मगर लगायतका आदीवासी जनजाती एंव आम नेपालीहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अबसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गर्दछु ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।

यसप्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्दछु । यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्दछु ।