जनता टाइम्स

२ माघ २०७६, बिहीबार ०९:०२

ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विष्फोट


काठमाडौँ, माघ २ । नागर्जुन नगरपालिका– १ स्थित डा शोभाकान्त ढकालको घरमा बुधवार साँझ बम विष्फोट भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार नेत्रविक्रम चन्द समूहले विष्फोट गराएको हो । घटना साँझ ७ः१४ मा भएको हो । सो घट्नामा मानवीय क्षति भने भएको छैन ।

विष्फोटबाट झ्यालका सिसा फुटेको छ भने गेट र पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन् । विष्फोट भएको स्थानमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएका छन्। पर्चामा ‘वालुवाटारस्थित ललिता निवास परिसरको करिब ११५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्चे प्रपञ्चको मुख्य योजनाकार भएकोले’ ढकालको घरमा सेवोटेज गरेको उल्लेख छ।