जनता टाइम्स

२ माघ २०७६, बिहीबार १०:३३

मन्त्री त्रिपाठीको निश्कर्ष : ओली-प्रचण्डबीचको सम्बन्धमा उतारचढाव आए उपलब्धी सबै खत्तम हुन्छ


काठमाडौं, माघ २ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीचको सम्बन्धमा दरार आए मुलुक नैसंकटमा पुग्ने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । ओली र प्रचण्डबीचको सम्बन्धमा उतारचढाव आयो भने सबै खत्तम हुने त्रिपाठीको भनाई छ ।

‘नेकपाको बनावटबाट कुनै ढंगको असहजता आयो भने प्रणालीलाई असर गर्छ। यो सरकारको सफलता र विफलता समग्र मुलुकको पछिल्लो प्रणालीसँग जोडिन जान्छ। ग्रामीण जीवनमा आएको उत्साह संघीयताको देन हो। यी सबै प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग जोडिएका छन्। उहाँहरूबीच सम्बन्धमा उतारचढाव आयो भने सबै खत्तम हुने छ,’ आज प्रकाशित एक दैनिक पत्रिकालाई दिनुभएको अन्तरवार्तामा मन्त्री त्रिपाठीले भन्नुभएको छ ।

मन्त्री त्रिपाठीका अनुसार मुलुकले गति लिने विषय सत्तारूढ दलका दुई अध्यक्ष ओली र प्रचण्डको सहकार्यमा निर्भर गर्छ । ‘राजनीतिको पछिल्लो धार र मुलुकको भविष्य सँगै जोडिएको हुन्छ। राजनीतिमा असर गर्दा मुलुकलाई जटिलतातर्फ लैजान्छ। मुलुक यतिबेला फरक दृष्टिकोणका साथ अघि बढिसकेको छ। मुलुकले गति लिने विषय सत्तारूढ दलका दुई अध्यक्षको सहकार्यमा निर्भर गर्छ,’ त्रिपाठीको निश्कर्ष छ ।