जनता टाइम्स

३ माघ २०७६, शुक्रबार १५:०४

ओली–प्रचण्डबीच सभामुखमा जुट्यो यस्तो सहमति


काठमाडौं, माघ ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच फाटो ल्याउन भैसिपाटीमा थापिएको एम्बुस डिस्पोज भएको छ । अध्यक्ष प्रचण्डलाई समेत झुक्याएर बोलाई संबिधान संसोधनको बुँदा राखेपछि दुई अध्यक्षबीच देखिएको आशंका चार पटकको भेटपछि मेटिएको हो ।

गत साता नेकपाका नेता बामदेव गौतमको भैसिपाटीस्थित निवासमा अध्यक्ष प्रचण्डसहित गौतम, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको थियो । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पुग्नुअगावै संबिधान संशोधनको बुँदा तयार पारिएको थियो । स्रोतका अनुसार अध्यक्ष प्रचण्डलाई गौतमले नै एउटा बिषयमा जरुरी सल्लाह गर्नुपर्ने भयो भन्दै बोलाउनु भएको थियो । उहाँको आग्रहअनुसार निवास पुग्दा चार नेता हुनुहुन्थ्यो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई छलेर तयार पारिएको संबिधान संशोधनको सो प्रस्तावलाई अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार गरी कागजसमेत नलिएको स्रोतको भनाई छ । ‘प्रधानमन्त्रीबिना संबिधान संशोधन जस्तो यति गम्भीर बिषयमा छलफल हुनसक्छ ? तपाईहरुल्े सचिवालयका चार जना जम्मा भएर मलाई झुक्याएर बोलाएर जे खेल खेल्नुभयो, यो ठीक भएन, प्रधानमन्त्रीले मसहित कांग्रेस सभापतिसँग कुरा गरी सहमत भएपछि मात्रै संबिधान संशोधनको मुद्दामा जान सकिन्छ,’ सो बैठकमा प्रचण्डको भनाई थियो । उहाँले आफूलाई बोलाएर ओलीसँग दुरी बढाउने काम गरेर चार नेता सफल भएको भन्दै आधा घन्टा बसेर बाहिरिनुभएको थियो ।

अध्यक्ष प्रचण्डले सचिवालयका आफूसहित पाँच नेता जम्मा भएर संबिधान संशोधनको समाचार दिई अध्यक्षबीच फाटो ल्याउने काम भएको भन्दै आपत्तिसमेत जनाउनु भएको थियो । यता प्रधानमन्त्री ओलीले भैसिपाटी गुटको भेलामा अध्यक्षसमेत सहभागी भएको जानकारी पाएपछि दुई नेताबीच केही अबिश्वास बढेको थियो । तर आजसम्मको भेटबाट अध्यक्षबीचको अबिश्वास हटेको छ ।

‘भैसिपाटीको एम्बुस डिफ्यूज भयो, अध्यक्ष भिडाउने योजनाले हावा खाएको छ, अव सभामुखको बिषयमा पनि कुरा मिलिसकेको छ,’ बालुवाटारस्रोतले जनताटाइम्ससँग भन्यो । स्रोतका अनुसार दुई अध्यक्षबीच उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, संबिधानसभा अध्यक्ष सुवास नेम्वाङ, पूर्व सञ्चारमन्त्री अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ, टोपबहादुर रायमाझीमध्येबाट एक जनालाई सभामुख बनाउने सहमति जुटिसकेको छ ।