जनता टाइम्स

३ माघ २०७६, शुक्रबार १६:११

कालिञ्चोकमा लगातार हिमपात, हिउँ खेल्न जाने कि !


दोलखा, माघ ३

दोलखाको कालिञ्चोक मन्दिर क्षेत्रमा बिहिबाररातीदेखि लगातार हिमपात भइरहेको छ । लगातारको हिमपातका कारण अत्यधिक चिसो बढे पनि कालिञ्चोकको कुरी क्षेत्रमा झण्डै चार हजार पर्यटक रमाईरहेको सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनुभयो ।

तीन हजार आठ सय ४२ मीटरको उचाईमा रहेको कालिञ्चोकमा पुषदेखि चैत्रसम्म अत्याधिक हिमपात हुने भएकोले लाखौँ पर्यटक पुग्ने गरेका छन् । कालिञ्चोकको कुरी क्षेत्रमा रहेका ५० भन्दा बढी साना तथा ठूला होटलहरु बिहिबार दिउँसोदेखि नै भरीएको ओलीले बताउनुभयो ।

शुक्रबार र शनिबार त्यसै पनि मानिसहरुको उपस्थिति उल्लेख्य हुने गरेकोमा हिमपात भएपछि कुरीका कुनै पनि होटलहरु खाली नहुने स्थानीय बताउछन् । महत्वपूर्ण धार्मिक गन्तव्यको रुपमा रहेको कालिञ्चोकको चुचुराबाट हिमश्रृङ्खला र हिउँले ढाकिएको सुन्दर पहाडहरु देखिने भएकोले हिमपातको मौसममा अत्याधिक पर्यटक पुग्ने गरेको होटल व्यवसायीहरुको भनाई छ ।

कालिञ्चोक र कुरी क्षेत्र आसपास झण्डै चार फिट हिउँ जमिसकेको स्थानीय बताउछन् । काठमाडौँबाट चरिकोट एक सय ३३ किलोमीटर र चरिकोटबाट कालिञ्चोक १७ किलोमीटरको दूरीमा रहेको छ । काठमाडौँबाट नजिक तर रोमाञ्चक हिम पहाडले ढाकिने स्थान भएकोले पनि कालिञ्चोकमा हिमपातको मौसममा अत्याधिक पर्यटक पुग्ने गरेका छन् ।

हिमपातका कारण चरिकोटबाट गैरीसम्ममात्र यातायात सञ्चालन भएको र गैरीबाट चेन भएका केही बोलेरोले मानिस ओसारी रहेको छ । लामोसाँगु जिरी सडकखण्डमा पर्ने दोलखाको खरीढुङ्गा क्षेत्रमा पनि शुक्रबार बिहानैदेखि हिमपात भइरहेको भएपनि यातायात चलिरहेको छ ।