पोखरा, माघ ४ । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।
उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उहाँले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिनुभयो । हराइरहेका पर्यटकमा कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा र ३८ वर्षीया चोई ह्यो वन रहेको बताइएको छ । १५ जनवरीदेखि पदयात्रा सुरु गरेका कोरियाली पर्यटक यात्रा गरेको दोस्रो दिनदेखि बेपत्ता छन् । कोरियाली पर्यटकहरु काठमाडौंको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेस्क्याम्पतर्फ गएका थिए । तर, उनीहरु ट्राभल मेट नामक अन्तर्राष्ट्रिय एजेन्सीमार्फत नेपाल आएको पाइएको छ ।
अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । मोबाइलको चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनसक्दछ, सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।
अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको बताउँदै उहाँले उक्त टिममा अन्य नेपाली पनि हुनसक्ने बताउनुभयो । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्