जनता टाइम्स

४ माघ २०७६, शनिबार ०९:१९

पूर्वमन्त्री लोकेन्द्र विष्टमगरको ‘रातकी रानी’


तुलसीपुर,  माघ  ४ । कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । “यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् रु” भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन् । खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो । “ड्रागन फ्रुटको बिरुवा लगाएको दुई÷तीन वर्षपछि मात्रै फल दिन्छ”, मगरले भन्नुभयो, “तर हामीहरुले छिप्पिएका बिरुवा लगाएर होला, नौ महिनामै फल दियो ।”

नौ महिनामै फलेपनि अझै परिपक्क भएको छैन । पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने मगरको भनाइ थियो । “एउटै बोटबाट तीन÷चार केजी फल लाग्छ”, उहाँले भन्नुभयो, “त्यतिबेला करिब चार÷पाँच टन उत्पादन होला ।”

दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको भन्दै केही अनुसन्धानकर्ताले नेपालमा यो नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताउने गरेको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै ठूलो क्षेत्रफलमा यो खेती हुन सकेको छैन, तर आकर्षण बढ्दै गएको छ ।” अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन् ।

रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती वस्तार गर्न ध्यान दिनुपर्ने उहाँको सुझाव छ । “यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोेच बनाएका छौँ”, मगरले भन्नुभयो । नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन । न्यून मात्रामा भियतनामलगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ ।

विदेशी ड्रागन फ्रुट रु ७०० देखि १९ सयसम्म किनबेच हुने गर्छ ।

आफू मन्त्री हुँदा चीन गएको बेला उहाँले ड्रागन फ्रुट खाने अवसर पाएपछि यसबारेमा चासो लिँदै आउनुभयो । पूर्वमन्त्री मगरले भन्नुभयो, “त्यतिबेला यो फललाई नेपालमा उत्पादन गरे कस्तो हुन्छ होला भन्ने सोच बनाएको थिए ।” नेपालमा यसको खेती भित्रिएको करिब १८ वर्ष जति भएको बताइन्छ । आफूले १५ वर्षदेखि यस खेतीका बारेमा जानकारी लिँदै आएको उहाँको भनाइ थियो ।

तराईमा यो खेतीका लागि हावापानी उपयुक्त भएकाले दाङमै आएर खेती गरेको उहाँले बताउनुभयो । पूर्वमन्त्री मगरले लामो समय बाँझो रहेको तीन बिघा छ कट्ठा जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएर खेती थाल्नुभएको हो । जग्गा १५ वर्षका लागि रु ४० लाखमा भाडामा लिएको हो । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरो पिल्लर गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ । त्यही डिप बोरिङ बनाएर हप्तामा दुई÷तीन पटक सिँचाइ गर्ने गरिएको छ ।

यसले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ । ड्रागनका तीन प्रकारका बिरुवा भए पनि आफूले बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि सेतो हुने दुई प्रकारका बिरुवा लगाएको उहाँको भनाइ थियो ।

रातमा मात्रै फल्ने ‘रातकी रानी’

यसको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले रातकी रानी भन्ने गरिन्छ । यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ । फूल फुलेको चार÷पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने उहाँको भनाइ छ । फूल फुलेको ४५ दिनमा फल तयार हुने र त्यो १५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ । ड्रागन सिउँडी प्रजातिको फल हो । दाङमा ड्रागन नौलो फल मानिएको छ । अन्य मुलुकमा व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ । गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ । जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ । फल खाँदा मीठो नभए पनि औषधि गुुणले भरिपूर्ण रहेको छ ।

यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको तरकारी बन्ने पूर्वमन्त्री मगरले बताउनुभयो । लामो समयको अध्ययन र अनुसन्धानपछि यो खेतीतर्फ आकर्षित भएको उहाँको भनाइ थियो ।