जनता टाइम्स

५ माघ २०७६, आईतवार १०:१०

नेकपाले सभामुखको चयन गर्दै, अध्यक्षद्वय निरन्तर छलफलमा


काठमाडौं, माघ ५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज सभामुखको चयन गर्ने भएको छ । अध्यक्षद्वय बीच सहमति जुट्ने वित्तिकै सचिवालय बैठक बोलाउने तयारी छ । भोली संसद बैठक बस्नु अघि नेकपाले सभामुखको चयन गरिसक्ने र उपसभामुखलाई राजिनामा गराउने तयारी भईरहेको नेकपाका नेताहरुले बताएका छन् ।

सभामुख चयनका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ । केही दिनदेखी चलिरहेको छलफल आज पनि जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको भेटमा सभामुख चयनको विषयमा छलफल भईरहेको बताइएको छ ।

दुई अध्यक्षबीच पछिल्ला दिन भएका छलफलहरु सकारात्मक हुँदै गएको छ । यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ । पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरु भएको भएपनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ ।

सभामुखका लागि सुवास नेम्वाङ, अग्नी सापकोटा, पम्फा भुषाल, हरिबोल गजुरेल लगायतका नेताहरुको चर्चा रहदै आएको छ ।