जनता टाइम्स

५ माघ २०७६, आईतवार १९:३८

लुम्बिनीको विकासमा ‘एक्सन’ लिँदै सरकार : पर्यटनमन्त्री भट्टराईले गर्नुभयो यस्तो घोषणा


काठमाडौं, माघ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी क्षेत्रको विकासका लागि अब सरकार ‘एक्सन’मा जाने घोषणा गर्नुभएको छ । लुम्बिनी बिकास कोषले आज आयोजना गरेको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ बिषयक अन्तक्रिर्यामा मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो ।

मन्त्री भट्टराईले लुम्बिनीको विकासका लागि यसअघि धेरै छलफल भइसकेको प्रष्ट पार्दै अब काम गरेर देखाउने बेला आएको बताउनु भयो । आजसम्म भएका छलफलमा आएका सुझाव र बनाइएका योजनालाई केन्द्रमा राखेर मन्त्रालयले तत्काल काम एक्शन अघि बढाउने मन्त्री भट्टराईको भनाई छ । उहाँले लुम्बिनीको विकास सरकारको प्राथमिकतामा परेको बताउनु भयो । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै उनले मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रुपमा बिकास गरिने बताउनु भयो । लुम्बिनीको विकासका लागि अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गर्ने जानकारी पनि पर्यटनमन्त्री भट्टराईले दिनुभयो ।

मन्त्री मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको बिकास गर्दा बहुसाँस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिने जानकारी पनि दिनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीका निम्ति विज्ञ र सरोकारवाला निकायको समन्वयमै विकासका काम अगाडि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी, योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, पुननिर्माण प्राधिकरणका सिईओ सुशिल ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा.घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा. हृदयरत्न राज्य ब्रजाचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठलगायतले सुझाव दिनुभएको थियो ।