जनता टाइम्स

६ माघ २०७६, सोमबार १७:४७

नेकपाले लागू गर्यो यति धेरै कठोर आचारसंहिता


काठमाडौं, माघ ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी सदस्यहरूका लागि कठोर आचार संहिता जारी गरेको छ । पार्टीका नेता कार्यकर्ताहरु अनुशासन भन्दा धेरै पर पुगेको निश्कर्षसहित नेकपाले कठोर आचार संहिता जारी गरेको हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले हस्ताक्षर गरी जारी गरिएको ११ बुँदे आचारसंहितामा पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई समेत कसरी सम्बोधन गर्ने भन्ने बुँदादेखि मुलुकको हितका लागि के–के गर्ने, के–के नगर्ने भनेर उल्लेख गरिएको छ ।
संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचारसंहिता केन्द्रीय सचिवालयले अनुमोदन गरी आइतबारदेखि मुलुकभर सर्कुलर गरिएको हो । संहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ । जसमा कसैलाई तँ भन्न पूर्ण रूपले बन्देज लगाइएको छ ।

‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ आचारसंहितामा भनिएको छ । पार्टी सदस्यहरूले बेला बेलाबेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनुपर्ने ब्यवस्थासमेत आचारसंहितामा गरिएको छ । ‘बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ,’ आचारसंहितामा भनिएको छ, ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यवभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ ।’

सोही बुँदामा छोराछोरीको बिहे, ब्रतबन्ध वा पास्नी गर्दा मितव्ययी बनाउनु पर्ने निर्देशन दिइएको छ । संहिताको १ नम्बर बुँदामा पार्टी सदस्यहरूले आफ्नो कमाइबाट राज्यलाई कर तिर्न, जीवन निर्वाह गर्न र पार्टीलाई नियमित लेबी बुझाउन भनिएको छ । यस्तै समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरूद्ध सधैं खडा हुन पनि निर्देशन दिइएको छ । घरेलु श्रमिक नराख्न, पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य स्कुल पठाउन पनि नेकपाले आचारसंहितामा भनेको छ । नेकपाले यो आचारसंहितालाई कडाईका साथ लागू गराउन सबै तहका कमिटीलाई कडा निर्देशनसमेत दिएको छ ।