जनता टाइम्स

६ माघ २०७६, सोमबार १९:४८

म्यानपावरमाथी सरकारी एक्सन ! कामदार ठग्नेलाई सवा करोड जरिवाना


काठमाडौं, माघ ६

वैदेशिक रोजगार विभागले अनुमति नलिई अफ्रिकी मुलुक घानामा कामदार पठाएको भन्दै एक म्यानपावर कम्पनीलाई सवा करोड जरिवानाको निर्णय गरेको छ । घानामा सुरक्षा गार्ड पठाउने नाममा ठगी गरेको बीएण्डबी एचआर म्यानेजमेन्ट कम्पनीलाई एक करोड २१ लाख रुपैयाँ क्षतिपूर्तिसहित जरिवाना तिर्नुपर्ने निर्णय गरेको हो ।

१५ जना पीडितलाई क्षतिपूर्ति र जरिवाना बापतको रकम तिर्नुपर्ने निर्णय गरेको छ । म्यानपावरले मासिक एक हजार ५ सय ७० अमेरिकी डलर तलब पाउने भन्दै प्रतिव्यक्ति ११ लाख रुपैयाँसम्म असुलेको थियो । घाना पुगेर फर्केका कामदारले म्यानपावर विरुद्ध उजुरी दिएपछि बिभागले कारबाही गरेको जानकारी विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले दिनुभयो । विभागले ८ जना पीडितलाई ५८ लाख ३० हजार क्षतिपूर्ति दिनुपर्ने र ७ जनालाई ५९ लाख ७६ हजार ४ सय क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको हो । पीडितलाई म्यानपावरको धरौटीबाट कट्टा गरी क्षतिपूर्ति दिइने जानकारी ज्ञवालीले बताउनु भयो ।

वैदेशिक रोजगार ऐन अनुसार म्यानपावरले पुनरावेदन गर्न पाउने भएकाले पीडितले ३५ दिनपछि मात्रै क्षतिपूर्ति बापतको रकम पाउनेछन् । म्यानपावरले घानामा कामदार पठाउन विभागसित पूर्वस्वीकृति लिएको थिएन । म्यानपावारले नक्कली कागजातमा पठाइएका कतिपय नेपाली यूएईको विमानस्थलबाट फर्काइएका थिए । पठाएकामध्ये ४ जना घाना पुगेर फर्केका थिए ।