जनता टाइम्स

७ माघ २०७६, मंगलवार १५:३२

मोदीसँग प्रधानमन्त्री ओलीको प्रस्ताव : नेपाल र भारतबीच थाँती रहेका मुद्दा टुङ्गो लगाउने समय आयो


काठमाडौं, माघ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच थाँती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनु भएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको मंगलबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उदघाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नुभएको हो ।

आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले अव यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको प्रधानमन्त्री ओलीको भनाई छ । सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तय गर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपाल र भारत इतिहास, भूगोल र संस्कृति र परम्परागत मान्यताका हिसाबले नजीकका छिमेकी भएको नाताले आपसी सहकार्यलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोच झैँ भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’ को नारा रहेको भन्दै सहकार्य र मित्रताबाटै यी कुरा प्राप्त हुने बताउनु भयो । प्रधानमन्त्री ओलीले मोदी सरकारको नारा बताइरुहँदा भारतीय प्रधानमन्त्री मोदीले मुस्कान दिनुभएको थियो । विगतमा आफू भारत भ्रमणमा जाँदा वीरगञ्जस्थित एकीकृत जाँचचौकी तथा पाँच महिनाअघि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त उद्घाटन गरेको स्मरण पनि उहाँले गर्नुभयो ।

भूकम्पछिको पुनःनिर्माण तथा हाल गोरखा र नुवाकोटमा निजी भवन निर्माणमा गरिएको सहयोगका लागि भारत सरकारलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन पुनःनिमन्त्रणा दिँदै ओलीले आफूहरु स्वागत गर्न तत्पर रहेको जानकारी पनि गराउनु भयो ।