जनता टाइम्स

७ माघ २०७६, मंगलवार १६:५०

कांग्रेसले पनि सघाएपछि सभामुखमा अग्नि सापकोटा निर्विरोध, माघ १२ गते औपचारिक घोषणा


काठमाडौं, माघ ७

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाका नेता अग्निप्रसाद सापकोटा निर्विरोध हुनु हुने भएको छ । उहाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ ।

निर्विरोध हुने भएपनि त्यसको आधिकारीक घोषणा भने आइतवार मात्र हुने भएको छ । सापकोटालाई सभामुखमा निर्वाचित गराउनका लागि संविधानसभा अध्यक्षसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् । सापकोटाको समर्थनमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपा नेता लक्ष्मणलाल कर्ण रहनु भएको छ ।

सभामुखमा उम्मेदवारी दर्ताका लागि संसद सचिवालयले मंगलबार ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेको थियो । उक्त समयमा सापकोटाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ ।

कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए । सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो । उपसभामुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भएको छैन । सभामुख चयन भएपछि उपसभामुखको निर्वाचन हुने संसद सचिवालयले जानकारी दिएको छ ।