जनता टाइम्स

८ माघ २०७६, बुधबार ०८:३६

ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा ज्यान गुमाउने सातै जनाको सनाखत (नामसहित)


काठमाडौं, माघ ८ । आज अपराह्न धादिङमा भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ, प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ, बेलबहादुर गुरूङ, विदुर गुरूङ, तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् ।
मंगलबार अपराह्न ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा दुर्घटना भएको थियो ।
नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा उक्त ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।