जनता टाइम्स

८ माघ २०७६, बुधबार १०:५८

उपसभामुख कसलाई ? यस्तो छ नेकपाको तयारी


काठमाडौं, माघ ८

प्रतिनिधिसभाको उपसभामुख पद अहिले खाली छ । सभामुख पद सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले लिएपछि उपसभामुख पद कसलाई दिने भन्ने निर्णय हुन बाँकी छ ।

संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिंगको हुनुपर्ने प्रावधान रहेको छ । नेपालको संविधान २०७२ को धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ । नेकपाले सभामुख लिईसकेकाले उपसभामुख अन्य दललाई दिनुपर्छ । उपसभामुखका लागि अहिलेसम्म प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र पछिल्लो समय नेकपासँग चुनावी तालमेल गरेको राष्ट्रिय जनता पार्टीले दावी गरिरहेका छन् ।

नेकपाले जसलाई चाहाने हो उसले सो पद पाउने पक्का जस्तै छ । किनकी संसदमा नेकपामा स्पष्ट बहुमत छ । नेकपाले उपसभामुख राजपालाई दिन सकारात्मक देखिएको छ । सभामुखमा आफ्नो पार्टीबाट अग्नी सापकोटालाई अघि सारेको नेकपाले उपसभामुखमा राजपालाई सहयोग गर्न लागेको हो । सभामुखमा आफ्नो पार्टीलाई सर्मथन जनाएकाले उपसभामुख पद राजपालाई दिने विषयमा छलफल सकारात्मक भएको नेकपा सचिवालय सदस्य समेत रहेका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । यद्यपी औपचारिक निर्णय हुन भने बाँकी रहेको उहाँको भनाई छ । राष्ट्रिय सभा निर्वाचनमा समेत गठबन्धन गरेको राजपालाई उपसभामुख दिएर नेकपाले मधेश राजनीतिमा सहज बातावरण बनाउने प्रयास गरेको हो ।

राजपाले भने सत्तारुढ दलसँग उपसभामुखका लागि परिणाममुखी वार्ता भइनसकेको जनाएको छ । अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले सत्तारुढ दलले प्रस्ताव गरे उपसभामुख पद सहर्स स्वीकार गर्ने बताउनुभयो । नेकपासंगको सहमतीपछि मात्र उपसभामुखको उमेद्बार तय गर्ने महत्तोको भनाई छ । राजपाबाट चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डल उपसभामुखका दाबेदार मानिएका छन् ।

उपसभामुखको आशामा रहेको प्रमुख प्रतिपक्षी काग्रेसले सभामुखमा उम्मेद्धार नउठाई बैठकमा तटस्थ बस्ने निर्णय लिईसकेको छ । संसद सचिवालयले सभामुखको निर्वाचन लगत्तै उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।