जनता टाइम्स

९ माघ २०७६, बिहीबार १२:०९

महामारीको रुपलिदै कोरोना भाइरस : त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानी


काठमाडौं,  माघ ९ ।   काठमाण्डौ । चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ ।

श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जानकारी दियो । विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएपछि ती व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको छ । ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाले जनाएको छ । अहिलेसम्म यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका दक्षिण कोरिया जापान र थाइल्याण्डमा पनि देखिएको छ । यो भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने चीनमा पाँच सयभन्दा बढी मानिस यसबाट सङ्क्रमित भएका छन् ।

यसको प्रकोप बढ्दै गएपछि चीनको वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् । जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक(एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनियाँ शहर बुहानका वा त्यहाँबाट फर्किका मानिस भएको अधिकारीहरुले जनाएका छन् । यसैबीच ताइवानले पनि एकजना संक्रमित भेटिएको बताएको छ ।

पर्यटकका रुपमा अधिकांश चिनियाँ नागरिक भित्र्ने उत्तर कोरियाले भने सबै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । भाइरसको प्रकोपलाई अन्तर्रा्ष्ट्रिय आपतकाल घोषणा गर्ने बेला भइसकेको केही विज्ञले बताएका छन् ।  झण्डै एक करोड जनसंख्या रहेको बुहान शहरका बासिन्दालाई त्यसक्षेत्र छाडेर अन्यत्र नजान र बाहिरका मानिसलाई त्यहाँ नआउन सरकारले अनुरोध गरेको छ । चिनियाँ शहर बुहानमा अनुहारमा लगाउने मास्क किन्नेको लामो लाइन लाग्न थालेको छ । औषधी पसलेहरुले एकजना ग्राहकलाई एउटा मात्रै मास्कको प्याकेट बेच्न थालेका छन् । रुघाखोकी र त्यो भन्दा गम्भीर विरामी गराउन सक्ने नयाँ खालको कोरोना भाइरस सन् २००२ देखि २००३ सम्म दर्जनौ राष्ट्रमा फैलिएको ‘सार्स’ प्रकृतिको छ । सार्सका कारण त्यसबेला आठ सय जनाको मृत्यु भएको थियो ।