जनता टाइम्स

९ माघ २०७६, बिहीबार १०:४५

राष्ट्रियसभाका १८ सदस्यका लागि मतदान, आजै साँझ परिणाम आउने


काठमाडौं, माघ ९

राष्ट्रियसभाका १८ सदस्यका लागि आज सातै प्रदेशमा मतदान शुरु भएको छ । १८ सदस्यका लागि निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । बिहान १० देखि अपराह्न ४ बजेसम्म भईरहेको मतदानका लागि सातै प्रदेशमा दुई हजार ५६ मतदाता छन् ।

निर्वाचन आयोगका अनुसार ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष\उपाध्यक्ष, प्रमुख\उपप्रमुख एक हजार ५ सय ६ समेत गरी दुई हजार ५६ मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्लामा मतदान शुरु भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश–१ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा, प्रदेश–२ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवनमा, बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं. ४ वडा समितिको भवनमा मतदान भईरहेको छ ।

यसैगरी, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कास्कीको परिसरमा, प्रदेश–५को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा, कर्णालीको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवन र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान जारी छ ।

प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ । सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा सरिक हुन अनुरोध आयोगले गरेको छ । मतदानका लागि फोटोसहितको परिचयपत्र अनिवार्य गरिएको छ । मतदान सकिएपछि आजै साँझसम्म अन्तिम परिणाम आउने आयोगले जानकारी दिएको छ ।