जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १६:१०

सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु


सिवी अधिकारी

काठमाडौं, बैशाख ३१

वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा छन् भने अन्य सात जनामा एक नेपालीसहित चीन, पाकिस्तान र ग्रिसका दुई÷दुई आरोही छन् ।

विश्वको चौथो अग्ला शिखरमध्ये ल्होत्से चौथो स्थानमा पर्छ । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ अग्ला हिमालमध्ये नेपालमा आठ वटा हिमाल रहेका छन् । ल्होत्सो आरोहणका लागि १० आरोही समूहका ९२ आरोही गएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।यसैगरी पाँचौँ अग्लो मकालु (८,४६३ मि) हिमालको पनि आज सफल आरोहण भएको छ ।

सेभने समिट ट्रेकबाट गएका पाँच शेर्पा मकालुको सफल आरोहण गरेका हुन् ।  कम्पनीका अध्यक्ष मिङमा शेर्पाले दिएको जानकारीअनुसार शेर्पा आरोही मकालु आरोहणका लागि डोरी टाँग्न चुचुरोमा जानुभएको थियो । केही दिनअघि अन्नपूर्ण हिमालको आरोहण भएको थियो तर, कति आरोही चुचुरोमा गए भन्ने यकिन जानकारी प्राप्त भएको छैन ।

अन्नपूर्णको आरोहणसँगै यो यामको हिमाल आरोहण शुरु भएको थियो । संसारकै आकर्षण सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै शेर्पा समूह चुचुरो नजिक पुगेका छन् । यो यामको सगरमाथा आरोहणका लागि एक्सिपिडिसन अपरेटर्स एशोसिएशनबाट गएका आठ शेर्पा डोरी टाँग्न सगरमाथाको चुचुरो नजिक पुगेका हुन् ।

सगरमाथाको बाटो पहिल्याउँदै गएका आठ शेर्पाको टोली दुई दिनदेखि सगरमाथाको साउथ कोल (८००० मि. उचाइ) मा छन् । मौसमले साथ दिए आजै सगरमाथाको चुचुरो (८,८४८ मिटर) मा पुगेर डोरी टाँग्ने सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘शेर्पा समूह हिजो साउथ कोल पुगेर समिटको प्रयासमा थिए । मौसमले साथ दिए आज चुचुरोमा पुगेर डोरी टाँग्ने सम्भावना छ, आज साँझसम्म परिणाम आउँला’, श्रेष्ठले भन्नुभयो । शेर्पाले टोरी टाँगेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको ढोका खुल्नेछ । अहिले सबै आरोही सगरमाथाको आधार शिविरमा रहेका छन् ।

सामान्यतया मे महिनाको १२ देखि १८ तारिखसम्म दोस्रो शिविरदेखि चुचुरोमा डोरी टाँगिन्छ । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् । पर्यटन विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यो याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।

सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यो याममा हिमाल आरोहणबाट करिब ५० करोड रोयल्टी जम्मा भएको छ । यसमा सबैभन्दा धेरै ४३ करोड ८९ लाख २७ हजार रहेको छ । यसअघि सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) को आठको शेर्पा समूहले क्याम्प–२ सम्म बाटो बनाइसकेको थियो ।

सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ । सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प-१ र क्याम्प-२ पुग्नु जोखिम मानिने गरेको आरोही बताउँछन् । आइसफल डाक्टरका अनुसार विगतमा भन्दा यस पटक सगरमाथा आरोहणका लागि बाटो राम्रो भएको छ । अनुकूल मौसमले आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको एसपिसिसीका अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो ।

सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ । त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ । आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ । सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए । जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सन् २०१७ मा ३८ आरोही समूहका ३७२ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । रासस