जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १६:२२

असोजमा लभ डायरीज, फर्स्टलूक पोस्टर सार्वजनिक


काठमाडौं, बैशाख ३१

सुशील श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र लभ डायरीजको फर्स्टलूक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक अवतारमा देखिएका छन् । यो चलचित्रबाट रुबीना र विश्वजित रिमालले डेव्यु गर्दैछन् । सौरभ चौधरीको निर्देशनमा निर्माण भएको चलचित्र आगामी असोज ३ गते प्रदर्शन हुने भएको छ ।

सौरभ यो चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन्, उनि पेशाले सिभिल इन्जिनियर हुन् । उनले यसअघि केहि चलचित्रमा सहायक निर्देशनको भुमिका निर्वाह गरेका छन् । चलचित्रमा अर्जुनजंग शाही, विशाल पहारीको विशेष अभिनय देख्न सकिनेछ । चलचित्रमा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेको बताइन्छ ।

युवा–युवती बिचको प्रेम तथा कमेडीलाई प्रस्तुत गरिएको चलचित्र मनोरन्जनात्मकसँगै सन्देशमुलक रहेको निर्माण पक्षले बताएको छ । विनोद सापकोटाले निर्माण गरेको चलचित्रका एसोसियट निर्देशक साहिल खान हुन् । चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गर्दैछन् । ‘लभ डायरीज’ को डिओपीमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।