जनता टाइम्स

१० माघ २०७६, शुक्रबार ०७:२८

सोनाम ल्होसार : वाग्मती प्रदेशभरि सार्वजनिक बिदा


काठमाडौं, माघ १० ।  वाग्मती प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गएको पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर नै बिदा हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रअनुसार हुने उहाँले बताउनु भयो । गृह मन्त्रालयले गएको वैशाखमा प्रकाशन गरेको राजपत्रअनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहने छन् ।

केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । त्यही अख्तियारीअनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।

६ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ । राजपत्रानुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन । राजपत्रको खण्ड ग मा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार हुनेछ भनि उल्लेख गरिएको छ ।