जनता टाइम्स

१३ माघ २०७६, सोमबार १९:२७

डेढ करोड बढी मुल्यको सुनसहित ६ जना पक्राउ


काठमाडौं, माघ १३ । छिमेकी मुलुक चीनबाट अवैध रुपमा नेपाल भित्र्याइएको साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन । उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज टिमुरेमा सुनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ निवासी ३४ वर्षीय नवाङ नुर्पू तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा तामाङ र दोलखाको तामाकोशी गाउँपालिका ५ निवासी २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन । रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाई छिपाई राखिएको अवस्थामा आज दिउँसो ३ बजे नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले टिमुरेमा चेकजाँच गर्दा सुन भेटिएको हो । प्रहरीका अनुसार चालकको साथबाट एक किलो र गाडीको सिटमुनि साढे एक किलो लुकाएको अवस्थामा भेटिएको थियो ।

बरामद गरिएको उक्त सुनको मुल्य १ करोड ६० लाख रुपैया पर्ने प्रहरीको भनाई छ । पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा कडाई गरिनुका साथै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भई चीनले रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सो नाकाबाट सुन तस्करी हुने गरेको छ । प्रहरीका अनुसार पछिल्लो समय रसुवागढी नाका सुन तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको छ । तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकावाट तस्करी बढिरहेको पाइएपछि रसुवामा सुरक्षा निकायले नियमनमा कडाई गरेपनि दैनिक जसो नै रसुवाबाट अबैध सुनको तस्करी भइरहेको छ ।