हेटौँडा, माघ १४
शहीद स्मारकको प्रजातान्त्रिक पार्कमा पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो विशेष कार्यक्रमकाबीच निर्माण गरिएको प्रतिमाहरुको अनावरण गर्दै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको पुष्पलाल, बीपी, गणेशमान र मनमोहनको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले बताउनु भयो । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हेटौँडाको शहीद स्मारकमा बनाइएको प्रतिमाहरुको अनावरण गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै विभिन्न देशका राजदूतहरु पनि सहभागी हुने कार्यक्रमा छ ।
राजदूतहरुले शहीद स्मारकसँगै मकवानपुरगढी लगायतका पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । स्मारकमा गरिने सबै कार्यक्रमको तयारी पूरा भएको बिहानदेखि नै सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी स्मारकमा तैनाथ गरिएको छ ।
स्मारमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चार जना अगुवा, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको हो ।
शहीद सप्ताहअन्तर्गत प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको शहीद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । शहीद स्मारक विकास समितिले झण्डै डेढ करोड रुपैयाँ खर्च गरेर शालिक निर्माण गरको जनाएको छ । यसअघि शहीद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण शहीदलाई एकै थलोमा स्मरण गर्न ६५ फिट अग्लो शहीद स्मृति स्तम्भ निर्माण गरिएको थियो । त्यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गर्नु भएको थियो ।
स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा शहीद भएका १२ जना शहीदको एउटै ढुङ्गामा मुखाकृत कुँदिएको छ । विसं २०४६ सालको जनआन्दोलनपछि २०४७ साल साउन ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी शहीद स्मृति बाटिका नामाकरण गरिएको थियो । विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको शहीद स्मारक देशकै नमुना शहीद केन्द्र बन्न पुगेको छ ।
यहाँ बर्सेनि पाँच लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव न्यौपानेले दाबी गर्नुभयो । स्मारकमा यसअघि नै नेता मदन भण्डारीको पनि प्रतिमा निर्माण भैसहेको छ ।
प्रतिक्रिया दिनुहोस्