जनता टाइम्स

१४ माघ २०७६, मंगलवार १२:२४

केन्द्रीय कमिटिको एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै


काठमाडौं, माघ १४

बुधबारबाट शुरु हुने सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को केन्द्रीय कमिटिको बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्दै छ । बैठकको तयारीबारे छलफल गर्न अपरान्ह ४ बजे सचिवालय बैठक डाकिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा एजेण्डामाथी छलफल गरेर केन्द्रीय कमिटिमा प्रस्तुत गर्ने निर्णय हुनेछ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको सांगठानिक कार्ययोजना सचिवालयले पारित गर्ने र त्यसलाई केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने छ । बैठकको पहिलो दिन बुधबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्ने बताइएको छ ।

त्यसपछि अर्का अध्यक्ष पुष्‍पकमल दाहालले राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्ने गर्नुहुनेछ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट गठित नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय छ । एकतापछि पहिलो पल्ट बस्न लागेको केन्द्रीय कमिटी बैठकमा समुहगत रुपमा अध्यक्षद्वयको प्रतिवेदनमाथी छलफल हुनेछ ।

राष्‍ट्रिय सभागृहमा बस्ने बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुने कार्यसूची छ । त्यसपछि टोली नेताले निष्कर्ष सुनाउने र गाँउगाँउमा नेता परिचालन गरिने नेकपाले जानकारी दिएको छ ।