जनता टाइम्स

१४ माघ २०७६, मंगलवार १५:२०

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको उदघोष : चालु अधिवेशनबाटै एमसीसी पारित गर्नुपर्छ


काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै एमसिसी पारित गर्नुपर्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चालु अधिवेशनबाटै एमसिसीलगायतका महत्वपूर्ण विषय पास गर्नुपर्ने बताउनु भएको हो ।

एमसिसीका विषयमासत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केही नेताहरुले बिवाद सिर्जना गरिरहेको बेला सो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पारित गर्नुपर्ने औपचारिक धारणा राख्नुभएको हो । संसद र सरकारले तिब्रगतिमा काम गर्नका लागि थुप्रै विधेयक पारित गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । ‘संसद र सरकारले तिब्र गतिमा अघि बढाउन जरुरी छ । नभए हामी पछाड पर्छौं, हामीले थुप्रै विधेयहरु पारित गरेर ऐन निर्माण गर्नु पर्नेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

राष्ट्रिय महत्वका विभिन्न विषयमा एकतावद्ध हुनुपर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री ओलीले विगतमा पनि एकताबद्ध भएका ठाउँमा सफलता प्राप्त गरिएको स्मरण गराउनु भयो । सबै दल एक ठाउँमा उभिएको समयमा राजतन्त्रलाई पराजित गरेको तथ्य स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकतावद्ध नभएको भए संविधान पनि जारी हुँदैनथ्यो । एक ठाउँमा नभएमा निर्वाचन पनि सम्भव थिएन ।’ दलहरु एकतावद्ध भएको समयमा समृद्धि, सुशासन र बिकासले गति लिने बताउँदै उहाँले बिकासलाई गति दिन अहिलेको सरकारले नेतृत्व गरेको बताउनु भयो । उहाँले बलिदानीपूर्ण संघर्षबाट ल्याएको उपलब्धिमा सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।