जनता टाइम्स

१४ माघ २०७६, मंगलवार १६:४२

राष्ट्रपतिले दिनुभयो प्रदेश सरकारलाई यस्तो सुझाव


हेटौंडा, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदप्रति उच्च सम्मान प्रकट गर्न जरुरी रहेको बताउनु भएको छ । हेटौंडा–११ स्थित सहिद स्मारकको रजत जयन्ती तथा प्रजातान्त्रिक पार्कको आज उद्घाटनपपछि सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राख्नुभएको हो । उहाँले देशमा भएको विभिन्न परिवर्तनमा उल्लेख्य भूमिका खेल्ने सहिदहरुप्रति राष्ट्रले उच्च सम्मान गर्न जरुरी रहेको बताउनु भयो ।

‘सहिदप्रतिको सम्मानले नयाँ पुस्तामा राष्ट्रियताको जगेर्ना, देशभक्तिको भावना जागृत गर्नुका साथै लोकतन्त्रको सम्वर्धन र प्रवर्धन गर्न तथा सामाजिक न्यायको पक्षमा क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास लिएको छु,’ राष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले सहिद स्मारक सहिदहरुको अध्ययन र अनुसन्धान गर्ने साझा थलोको रुपमा विकास भइरहेको भन्दै खुसीसमेत व्यक्त गर्नुभयो ।

उहाँले मुलुकमा उत्पादित विद्युतिय उर्जालाई सदुपयोग गर्न सुदृढ विद्युत प्रसारणका साधन तथा प्रवर्धन गर्ने उपकरणको प्रयोग बढाउन खाँचो रहेको पनि औंल्याउनु भयो । राष्ट्रपति भण्डारीले प्रदेशसभाले प्रदेशको नाम वागमती राखेकोमा खुसी व्यक्त गरिन । पर्यटन प्रबर्धनमा प्रदेश सरकारको विशेष जोड रहने विश्वास लिएको बताउँदै राष्ट्रपति भण्डारीले प्रदेशमा पर्यावरणमैत्री पर्यटकीय संरचनामा निर्माणमा ध्यान दिन प्रदेश सरकारलाई सुझाउनुभयो । जनस्वास्थ्यलाई ध्यानमा राखेर सुविधायुक्त स्वास्थ्य संस्था र गुणस्तरीय शैक्षिक संस्थाहरु स्थापना गर्न पनि उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसअघि राष्ट्रपति भण्डारीले स्मारकमा निर्माण भएको रजत स्तम्भ र प्रजातान्त्रिक पार्कको अनावरण गर्नुभएको थियो । उहाँले सहिद स्तम्भ तथा मदन वाटिकामा माल्यार्पणसमेत गर्नुभयो । कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवं वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशमा अधिकारी प्राप्तिको लडाईं सकिएको बताउँदै संघर्षको युगबाट समृद्धिको युगमा प्रवेश गरेको बताउनु भयो ।

‘लामो राजनीतिक स्थिरतापछि देशमा बलियो र स्थिर सरकार निर्माण भएको छ । भ्रष्टाचारविरुद्ध शून्यसहनशिलता, प्रशासनिक काममा चुस्तता र स्थानीय सरकारबाट घरगाउँमै सेवा प्रवाह र विकास निर्माणप्रति प्रतिवद्धताबाट देश बन्दैछ भने सन्देश प्रवाह भएको छ,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

वागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्था निरन्तर लम्बाई र संघर्षबाट प्राप्त भएको भन्दै जोगाउने दायित्व सवैको रहेको बताउनु भयो । वागमती प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले प्रदेशभर निर्माण भइरहेको पर्यटकीय पूर्वाधारको बारेमा जानकारी गराउनु भएको थियो ।

रजत जयन्तीको सन्दर्भमा सहिद स्तम्भ निर्माण गर्ने कलाकारहरु कमलेश महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठ, स्मारक निर्माण गर्दाको पहिलो उपभोक्ता समितिका अध्यक्ष हरिशरण सुवेदी तथा स्थापना कालदेखिका व्यवस्थापकीय प्रमुख रामचन्द्र न्यौपानेलाई सम्मानित गरिएको थियो ।