जनता टाइम्स

१४ माघ २०७६, मंगलवार १८:३६

सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तिरम आदेश दिन अस्वीकार, दियो यस्तो आधार


काठमाडौं, माघ १४ । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सापकोटालाई सभामुख बनाउने प्रक्रिया रोकिपाउँ भनी परेको निवेदनमाथि सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउने प्रक्रिाय रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सो रिटमाथि न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटाको मुद्दा अनुसन्धानकै क्रममा रहेको र उहाँ सभामुख पदमा निर्वाचित भइ शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय दिएको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले रिटमा युद्धकालमा हत्या आरोप लागेको भन्दै उनलाई सभामुख बनाउने प्रक्रिया रोक्न माग गर्नुभएको थियो । सापकोटाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता भइ अनुसन्धान चलिरहे पनि ‘साधिकार निकाय वा अदालतबाट अभियोग प्रमाणित भइसकेको नदेखिएको’ भन्दै अन्तरिम आदेशको औचित्य नदेखेको हो ।

अदालतले अभियोग प्रमाणित नभएसम्म सार्वजनिक पद धारण गर्न नमिल्ने भन्ने कानुन नभएको भन्दै सापकोटा कुसरदार प्रमाणित नभएको बताएको छ ।  त्यस्तै अदालतले सापकोटाविरुद्धको कर्तव्य ज्यान मुद्दा के कस्तो अवस्थामा रहेको छ ? त्यसको प्रगति सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको कार्यालयमार्फत ३० दिनभित्र जानकारी गराउन विपक्षी नेपाल सरकार गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक समेतका नाममा आदेश दिएको छ ।