जनता टाइम्स

१४ माघ २०७६, मंगलवार २१:११

राजपा नेतृ झाको राजीनामापछि संकटमा पर्यो प्रदेश २ सरकार, यस्तो छ सत्ता हेरफेरको रणनीति


जनकपुरधाम, माघ १४ । प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा डिम्पल कुमारी झाले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सरकारको कार्यप्रति असन्तुष्टि जनाउँदै राज्यमन्त्री झाले आज पदबाट राजीनामा दिनुभएको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राज्यमन्त्री बन्नुभएकी झाले प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको प्रयास अनुकुल नरहेकाले राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको छ । ‘म राज्यमन्त्री भएपछि सरकारको पद र प्रतिष्ठा जोगाउन प्रयास गर्दागर्दै पनि मेरो प्रयासका बाबजुद स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेकीछु’, झाले भन्नुभएको छ । संघीय केन्द्रीय सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल सहभागी हुने योजना अनुसार झाको राजनीनामा आएको बताइएको छ ।

राज्यमन्त्री झाले मुख्यमन्त्री र आर्थिक मामला मन्त्रीसँग असन्तुष्ट भएर राजीनामा दिएकी हुन् । प्रदेश सरकारले आफ्नै गृह जिल्ला ९रौतहट० मा कार्यक्रम गर्दा समेत आफूलाई जानकारी नदिएको उनले गुनासो गरेकी छन् । संयुक्त सरकार भए पनि एउटै पार्टीको सरकार जसरी सञ्चालन गरेको, आफूले अघि सारेको जुनसुकै योजना अर्थ मन्त्रालयले रोकेको झाको भनाई छ । राजीनामापछि झाले भन्नुभयो ‘डेढ वर्षदेखि निरन्तर प्रयत्न गर्दा पनि पदीय मर्यादा जोगाउन नसक्ने अवस्था आएपछि पापको भागीदार किन बन्ने भनेर राजीनामा दिएकी हुँ ।’

संघीय सरकारमा राजपा नेपाल सहभागी भए श्रीमान् अनिल झालाई मन्त्री पदका लागि भागबण्डामा बाटो खुला हुने मनस्थितिले झाले राजीनामा दिएको श्रोतको दाबी छ।