काठमाडौं, माघ १५ । सुर्खेतमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको विषयलाई लिएर झडप भएपछि स्थानीय प्रशासनले आज बिहानसम्मका लागि लगाएको कर्फ्यू हटाइएको छ ।
घटनाको विरोधमा दिनभर वीरेन्द्रनगर तनावग्रस्त भएपछि मंगलवार बेलुका ६ बजेदेखि कर्फ्यु लगाइएको थियो ।
यसरी भएको थियो घटना
मंगलबार विहानै केशर सिंह आफ्नो बज्यैलाई कालिकोट पठाउन मसुरीखेत अंकलको घर गए । कालिकोट जाने बसमा पठाउनु पर्ने भएकाले विहानै उनी मसुरी खेतमा रहेको अंकल कृष्ण सिंहको घर पुगेका थिए ।
कालिकोट महावै–३ सिम्खेतमा बस्दै आएका तीन भाइका लागि नयाँ कपडा, किताव किनेर र अन्य सामान बज्यैसंग पठाउनु थियो । केही सामान बज्यैसंग पठाएपनि मोटरसाइकलमै राखेको किताव र कपडा बसपार्क गएर दिने तयारीमा थिए । उनले बज्यैलाई अटोमा चढाएर आफू फोरलेन सडकमा निस्किए ।
उनीसंग मोटरसाईकल भएकाले बज्यैलाई अटोमा चढाए । मुख्य राजमार्गमा निस्किएपछि फूपु प्रमिता सिंह प्रतिक्षामा थिइन । कोरियन भाषा सिक्दै गरेकी उनी भतिजसंगै दिदीलाई बसपार्कबाट गाडीमा चढाएर ट्युसन सेन्टरमा पुग्न केशरलाई कुरिरहेकी थिइन् ।
उनी उभिएको ठाउँदेखी अघि उनकी फूपु सवार अटो रोकियो । लगत्तै भतिज केशर चढेको मोटरसाइकल साइड लगाउन खोज्दै थिए । त्यत्तिकी बेला मात्तिएर आएर टिप्परले ठक्कर दियो ।
केशर बिच सडकतिर हुत्यिए, तिव्र गतिमा हुईकीएको टिप्परको पछाडीको चक्काले झण्डै २० मिटर घिसार्दै लग्यो । केशरको मृत्यु आँखा अगाडी नै देखिएकी फूपु प्रमिता भावविहिल भइन् । उनको एउटै स्वर थियो, ‘ज्यानमारा टिप्परलाई आगो लगाऊ, आगो लगाऊ, हत्यारालाई कारवाही गर ।
भाईलाई भन्थे, ‘म जागिर खाए तिमीहरुलाई ठूलो मान्छे बनाउँछु’
विपन्न परिवारमा हुर्किएका केशर घरका जेठा छोरा थिए । उनीपछि तीन भाई छन् । बुवाले आफूलाई पढाउन गरेको संघर्ष देखेर उनी भाइहरुलाई भनेको शव्द उनका साथी हिक्मत सिंहले सुनाए, ‘म जागिर खाए भने मेरो जस्तो दुःख गर्न पर्दैन्, राम्रो स्कुलमा पढाएर तिमीहरुलाई ठूलो मान्छे बनाउँछु भन्थ्यो उ कहिल्यै नफर्कने गरी सदाका लागि विदा भयो ।’
उनका बुवा गाउँमा रहेको बारीबाट उब्जिने अन्नले गर्जो टार्ने नसक्ने भएपछि व्यापारको सिलसिलामा ईलाम र भारतको दार्जिलिङ्ग पुग्ने गरेका छन् ।
छोराको दुर्घटना भएको बेला उनी इलाम रहेको केशरका साथी हिक्मतले बताए । खाँडाचक्र नगरपालिकामा रहेको कालिमा माविमा प्लस टू पढेका उनी भारती सेनाको तयारीमा लागेका थिए । भए भारती सेना नभए कोरिया जान वीरेन्द्रनगरमा अध्ययन गरिरहेका थिए ।
प्रेमिकाले गरिन् आत्महत्या
सुर्खेतमा टिपरको ठक्करबाट केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएपछि विक्षिप्त बनेकी सिहकी प्रेमिका अरुणा शाहीले घटनालगत्तै आत्महत्या गरेकी छन् ।
घटना भएको थाहा पाएपछि घटनास्थलमा पुगेकी उनकी प्रेमिकाले घटनास्थलमा केशरको शव हेर्न नसकेपछि घर पुगेर आत्महत्या गरेकी हुन् ।
कालिकोट घर भएकी अरुणा सुर्खेतस्थित वीरेन्द्रनगर २ मा मामाघरमा बस्दै आएकी थिइन् । सिहका आफन्तजनका अनुसार साही मगलबार ३ बजे काठमाडौ जाने भएपछी बिहानै शाहीलाई भेट्न आउने जानकारी दिएका थिए । लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरु केही समयपछि बिहे गर्ने तयारीमा रहेका आफन्तको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको हुन सक्ने प्रहरीको दाबी छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्