काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारले काम र उपलब्धीबाटै बिरोधीको प्रश्नको जवाफ दिएको बताउनु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठकमा बोल्दै सरकारले अपेक्षा गरेअनुसारको उपलब्धी प्राप्त गर्न नसकेको भएपनि परिणामका आधारमा ऐतिहासिक काम गरेको बताउनु भयो ।
‘हामी काम नगरी बसेका वा उपलब्धी हासिल नगरी बसेका वा उपलब्धीमा पछाडि परेका होइनौं । निर्वाचनपछिका दुई बर्षमा हामीले असाधारण उपलब्धी हासिल गरेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले नेकपा र सरकारबिरुद्ध एकोहोरो प्रचार युद्ध छेडिएको भन्दै तथ्यहरुले सरकारबिरोधी प्रचार निश्प्रभावी बनेको बताउनु भयो । ‘हाम्राबिरुद्ध प्रचार युद्ध डरलाग्दो गरी छेडिएको छ । युद्ध मात्रै होइन, प्रचार आक्रमण छेडिएको छ । तर हामी बाद विवादबाट होइन, उपलब्धीबाट, कामको परिणामबाट, नतिजाहरुबाट जवाफ दिँदै आएका छौं । अव पनि यही रुपमा जवाफ दिन्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले बर्तमान सरकार बनेपछि संबिधान कार्यान्वयनका सन्दर्भमा ऐतिहासिक उपलब्धी हासिल भएको तथ्य पनि राख्नुभयो । ‘कतिपय सरकारका कमी कमजोरीहरु पनि भएका हुन सक्छन । अपेक्षा अनुसार काम नभएको हुन सक्छ किनभने हामी सन्तोष गरेर बस्न सक्ने अवस्थामा छैनौं, तर काम असाधारण भएका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी एकीकरणको कार्य लगभग निश्कर्षमा पुर्याइसकेका जानकारी पनि दिनुभयो । ‘मुलत पार्टी एकता भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
https://www.facebook.com/jantatimes/videos/477400406482228/
https://www.facebook.com/jantatimes/videos/630673361016136/
प्रतिक्रिया दिनुहोस्