जनता टाइम्स

१५ माघ २०७६, बुधबार १४:१६

टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै


काठमाडौं, माघ १५

काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो । टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनसङ्ख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि रु एक÷एक करोड वितरण गरेपछि टोखा नगरपालिकाले पनि पार्क निर्माण कार्यलाई प्राथमिता दिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिका–१ बौडेश्वरमा रु तीन करोड ३२ लाख लगानीमा ‘चिल्ड्रेन पार्क’ निर्माण गर्न लागेको बताउनुहुन्छ ।

“बालबालिकालाई खेल्नदेखि आराम गर्नमिल्ने गरी निर्माण गर्न लागिएको पार्क २०७७ असार मसान्तमा सक्ने लक्ष्य राखेका छौँ”, उहाँ भन्नुहुन्छ । यस्तै टोखा नगरपालिका–५ मा रु एक करोड ५६ लाख लागतमा कल्की मन्दिर पार्क निर्माण गर्न लागेको छ । उक्त पार्क निर्माणको शिलान्यास कार्य सम्पन्न भइसकेको नगरपालिका प्रमुख अधिकारी बताउनुहुन्छ । उक्त पार्क पनि २०७७ असार मसान्तसम्म सम्पन्न भइसक्छ ।

टोखा नगरपालिकाले तीनवटा पार्क निर्माणका लागि भने डिपिआर गरेर बोलपत्र आह्वान गर्ने क्रममा छ । टोखा–३ झुडोलमा निर्माण हुने झुडोल पार्क, टोखा–८ मा बन्न लागेको जालपा पार्क र टोखा–१० मा निर्माण हुन लागेको महिन्द्रेश्वर पार्कका लागि बोलपत्र आह्वान गर्ने काम हुँदैछ । नगरपालिकाले झुडोल पार्क निर्माणका लागि रु १० लाख, जालपा पार्क निर्माणका लागि रु ५० लाख र महिन्द्रेश्वर पार्क निर्माणका लागि रु १५ लाख वजेट विनियोजन गरिसकेको छ ।