जनता टाइम्स

१५ माघ २०७६, बुधबार १६:०७

०७७ चैत्रमा पहिलो महाधिवेशन गर्ने नेकपाको प्रस्ताव, फागनु १ बाट देशव्यापी अभियान सञ्‍चालन गर्ने


काठमाडौं, माघ १५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो महाधिवेशन ०७७ चैत्रमा गर्ने प्रस्ताव गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७७ चैत्र २५ देखि ३० सम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटि बैठकमा गर्नुभएको हो ।

राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको छ । यसैगरी राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । स्थायी कमिटीमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैतभित्र उल्लेख थियो ।

राजनीतिक प्रतिवेदनमा महाधिवेशन अगाडि देशव्यापी अभियान सञ्‍चालन गर्ने प्रस्ताव गरिएको छ । उक्त अभियान आगामी फागुन १ देखि सुरु भएर असार मसान्तमा सम्पन्न गर्नुपर्ने योजना राखिएको छ । आगामी फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय समितिहरूले बैठक बसेर अभियानको कार्ययोजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय संगठनहरू केन्द्र, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अन्य कार्यक्रम सञ्‍चालन गर्ने, चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरुप सदस्यता नवीकरण सम्पन्न गर्नुपर्ने, जेठ मसान्तसम्म घरदैलो, पदयात्रा र टोलभेला तथा सभाको आयोजना गर्नुपर्ने र असार महिनामा स्थानीय तहहरूमा जनसभा गर्नुपर्ने अध्यक्षद्वयको प्रतिवेदनमा छ ।

प्रतिवेदनअनुसार आगामी साउन दोस्रो हप्ता जिल्ला नेकपाका समितिले आ(आफ्नो जिल्लाको अभियान समिक्षा गर्ने र प्रतिवेदन तयार गरी प्रदेश समितिमा पठाउनुपर्ने कार्यतालिका तय गरिएको छ । साउन महिनाको तेस्रो हप्ता प्रदेश समितिले आ–आफनो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउनुपर्ने प्रतिवेदनमा लेखिएको छ ।

साउन महिनाको चौथो हप्ता केन्द्रीय समितिले मुलुकभर सञ्‍चालन गरेको अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने कार्यसूची प्रतिवेदनमा छ । अध्यक्षद्वयले केन्द्रीय समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा मुलुकभर सञ्‍चालन गर्ने अभियानको नारा ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ रहेको छ ।