काठमाडौं, माघ १५ । काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरपालिकालाई नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत रु १ करोड अनुदान रकम प्रदान गरेको छ । उक्त नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई आज एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गर्नुभयो ।
करीब १७ रोपनी जमिनमा १३ करोडको लगानीमा बन्ने सो पार्कका लागि काठमाडौँ महानगरका तर्फबाट रकम हस्तान्तरण गर्दै मेयर शक्यले नगर–नगर साझेदारी कार्यक्रम अन्र्तरगत नै सो रकम हस्तान्तरण गरेको बताउनुभयो । ‘काठमाडौं जिल्लाका १० वटै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्न, हरियाली बढाउन तथा पार्क निर्माण गर्न यस अघि नै हामीले १–१ करोड रुपैयाँ अनुदान दिएका छौं,’ मेयर शाक्यले भन्नुभयो, ‘हामीले छिमेकी नगर भन्दा बाहिरका पनि केही नगरलाई यस्तो सहयोग गर्ने नीति अनुसार पहिलो पटक मध्यपुर ठिमीलाई एक करोड अनुदान दिएका हौँ । यो रकमले शंखधर पार्क निर्माणका लागि केही सहयोग पुग्ने मैले आशा लिएको छु ।’
मेयर शाक्यले महानगरले दिएको रकमको सही सदुपयोग गर्दै भनेकै शीर्षकमा खर्च गरे आगामी आर्थिक वर्षमा पनि सहयोग गर्न सकिने बताउनुभयो । सम्झौतापत्रमा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर–४ शंखधरचोक नजिक शंखधर पार्क निर्माण गरी सञ्चालन गर्ने सो परियोजनामा मण्डला र एम्पिथिएटर, चिःबाह, मन्दिर, सौचालय मञ्च, पार्टी, पुटपाथ, पदमार्ग, शंखको मूर्तिसहितको ऐतिहासिक हरियाली पार्क निर्माणलगायतमा सो रकम खर्च गर्नुपर्ने उल्लेख छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमीका प्रमुख श्रेष्ठले महानगरबाट उपलब्ध अनुदान रकमको सही सदुपयोग हुने विश्वास दिलाउनुभयो । उहाँले पार्कको उद्घाटन पनि मेयर शाक्यकै उपस्थितिमा गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रपछि मेयर शाक्यसहितको टोलीलाई मेयर श्रेष्ठले पार्कको अनुगमन गराउनु भएको थियो । त्यसैगरी मध्यपुर ठिमी नगरपालिकाले निर्माण गरेको दुइपोखरी, बिष्णुकुण्डल चारदोवाटोमा नेपालमै पहिलो पटक जापनिज प्रविधिबाट उत्पादित प्राङगरिक मल उत्पादन गरिएको स्थानलगायतको पनि अनुगमन गराउनुभएको थियो ।
रिकिशी कम्पोष्ट मल उत्पादनका लागि मध्यपुर ठिमी नगरपालिकाका करीब एक हजार घरबाट हरेक हप्ता संकलन गरेको दुई सय टन फोहोरबाट उत्पादित मलको अहिले विभिन्न ठाउँबाट माग भई आएको भन्दै मेयर श्रेष्ठले मेयर शाक्यलाई पनि पाँच किलो मलको प्याकेट उपहार दिनुभयो । उहाँले यसरी फोहोरलाई सदुपयोग गर्ने हो भने घर–घरबाट उत्पादन हुने फोहोरलाई मोहोरमा रुपान्तरण गर्न सकिने बताउनुभयो । मेयर शाक्यले पनि चासो पूर्वक त्यसको अनुगमन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्