जनता टाइम्स

१६ माघ २०७६, बिहीबार ०७:२७

नेपाल वायुसेवा निगममा पर्यटनमन्त्री भट्टराईको तीन घन्टा, विभागीय प्रमुखसँग मागे सुधार योजना


काठमाडौं, माघ १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठकपछि बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यालयतर्फ लाग्नुभयो । बैठकस्थल सभागृहबाट न्यूरोड गेटस्थित निगमको कार्यालय पुगेर मन्त्री भट्टराईले निगमका उच्चअधिकारीलाई भन्नुभयो, ‘आज म तपाईको कुरा सुन्छु ।’

अपरान्ह्र ४ बजे देखि सुरु भएको छलफलमा निगमका अध्यक्षसमेत रहनुभएका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसहित निगमका सबै विभागका विभागीय प्रमुख तथा कर्मचारीका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । छलफलमा निगमका विभागीय प्रमुखहरुले सम्बन्धित विभागका अवस्था, समस्या र सम्भावना बारेमा रिपोटिङ्ग प्रस्तुत गरे । विभागीय प्रमुखहरुले रिपोर्टिङ्ग प्रस्तुत गरिरहदा मन्त्री भट्टराईले बिच–बिचमा प्रश्न सोधेर गहिरो गरी अवस्था बारेमा जानकारी लिनुभयो ।

मन्त्री भट्टराईले सबै विभागीय प्रमुखहरुलाई ‘क्रस कोइसन’ गर्दै अवस्था बारेमा बुझ्नुभएको थियो । विभागीय प्रमुखहरुको रिपोर्टिङ्ग सुनेपछि निगमको व्यवस्थापनलाई प्रभावकारी बनाउन र निगमभित्रको आर्थिक मितव्ययीतालाई चुस्त बनाउने योजनादेखि निगमको भविष्यको मार्गचित्रसहितको खाका प्रस्तुत गर्न पर्यटनमन्त्रीभट्टराईले निगमका विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।

प्रत्येक विभागले कार्ययोजना बनाउनोस

पर्यटनमन्त्री भट्टराईले इतिहासलाई मात्र गर्व गरेर बस्ने छुट नरहेको भन्दै राष्ट्रिय गौरवसँग जोडिएको विषय भएकाले निगमलाई जसरी पनि माथि उठाउनै पर्ने बाध्यता बताउनुभयो । ‘निगमको गौरवमय इतिहास छ, तर पूर्खाले घिउ खाएका थिए, हात चाटेर बसौं भनेर पनि अब हुन्न । गौरवमय इतिहास बोकेको निगम आजसम्म जे–जस्तो गरी आइपुग्यो यसको विद्यमान संरचनालाई अब नयाँ ढङले अघि बढाउनैपर्छ, त्यसका लागि कर्मचारी तयार हुनुहोस् निगम यतिखेर ऐतिहासिक र निर्णयक अवस्थामा आइपुगेको छ,’ मन्त्री भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले सुधारको निम्ती प्रत्येक विभागीय प्रमुखहरुलाई नयाँ योजना तयार पार्न निर्देशन दिनुभयो । कुनै पनि संस्थालाई माथि उकास्न केही न केही सम्झौता वा त्याग गर्ने पर्ने भन्दै मन्त्री भट्टराईले निगमका अहिलेका कर्मचारीहरुमा त्याग र इमान जरुरी रहेको बताउनुभयो । ‘यतिका युवा साथीहरु विभागीय प्रमुख हुनुहुन्छ, इमानका साथ काम गरेर नयाँ इतिहास निर्माणका लागि तयार हुनुहोस,’ उहाँको भनाई थियो ।

भारतको एयर इण्डियाको विघटनको उदाहरण दिँदै पर्यटनमन्त्रीले समस्या समाधान गर्न बेलैमा सुजबुझपूर्ण तयारीका साथ अघि बढ्नुमानै निगमको भविष्य उज्वल हुने बताउनुभयो । मन्त्री भट्टराईले निगमका प्रत्येक विभागले हालको समस्या र आगामी कार्ययोजनाको विस्तृत प्रतिवेदन तयार गरी मन्त्रालयसमक्ष पेश गर्न पनि निर्देशन दिनुभयो । निगमभित्रको अनावश्यक खर्च कटौती गर्दै विदेशस्थित निगमका कार्यालयमा बढ्दो खर्च घटाएर आर्थिक मितव्ययिता अपनाउन पनि उहाँले निर्देशन दिनुभयो ।

व्यापारीको स्वार्थमा होइन निगमको पक्षमा काम गर्नुहोस

मन्त्री भट्टराईले निगमका उच्च अधिकारीहरुको काम आफूले नजिकबाट नियालिरहेको भन्दै सचेत गराउनु भयो । ‘व्यापारीसँग समय बिताउने, लन्च गर्ने डिनर गर्ने र अफिसको कामलाई बेवास्ता गरिरहेको पाइएको छ । अब छोडिदिनुहोस्, व्यापारिक समूहसँगको हिचमिच र लन्च डिनर अनि कुन दिन के विषयमा को व्यापारीसँग कस्तो विषयमा कुराकानी भयो संस्थालाई जानकारी गराउनुस, यो संस्थागत अभिलेखका लागि पनि आवश्यक छ,’ मन्त्री भट्टराईले भन्नुभयो । उहाँले व्यापारीको स्वार्थमा होइन, निगमको हितमा काम गर्न कडा निर्देशन समेत दिनुभयो ।

मन्त्री भट्टराईले निगमको सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गर्दै र्‍याम्प बस खरिदमा किन ढिलाइ भइरहेको हो भनी प्रश्न गर्नुभयो । विगतमा अस्थिर सरकार भएकाले निगमको अवस्था पनि अस्थिर भएको प्रसङग उल्लेख गर्दै मन्त्री भट्टराईले अहिलेको सरकार स्थिर मात्र हैन बलियो र शक्तिशाली भएकाले निगमको अवस्थालाई सुधार गर्न जस्तोसुकै कदम चाल्नसक्ने र त्यस परिस्थतिलाई सामना गर्न कर्मचारी तयार हुनुपर्ने बताउनु भयो ।

निगमको सम्पतिको सही सदुपयोग गरौं

मन्त्री भट्टराईले निगमको स्वमित्वमा रहेका जग्गाहरुको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । निगमका देशका बिभिन्न १६ स्थानमा रहेका जग्गाहरु उचित मुल्य सहित भाडामा अथवा व्यापारिक प्रयोजनमा ल्याउन पर्ने बताउनुभयो । पछिल्लो समयमा पोखरामा रहेको जग्गाको भाडा नउठिरहेको सन्दर्भमा तत्काल प्रशासन र प्रहरीको सहयोगमा भएपनि आबश्यक कदम चाल्न निर्देशन दिनुभयो ।