काठमाडौं, माघ १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीबिरुद्ध लगाइएको आरोपको एकमुष्ट जवाफ दिनुभएको छ । सरकारमाथि प्रचार युद्ध छेडनेदेखि पार्टीभित्रैबाट भइरहेको हमलाको पनि प्रधानमन्त्री ओलीले तथ्यसहित जवाफ दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र असन्तुष्ट नेतालाई ‘कुरा बुझेर’ मात्रै बोल्न पनि सुझाउनु भयो । बैठकमा दुई घण्टा लामो सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यहरुको भ्रम मेटाउने काम पनि गर्नुभयो । बैठकमा आलोचना सुन्न तयार भएको बताउँदै प्रधानमन्त्री ओलीले कमी कमजोरी रहेको भए सुधार गर्दै अघि बढने बताउनु भयो । सरकारको काम, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखि पछिल्लो समय मिडियामा चलाइएको सरकारबिरोधी मिसनसम्मलाई सम्बोधन गर्नुभयो ।
सरकार विरुद्ध प्रचार आक्रमण बढ्यो
बैठकमा प्रधानमन्त्री ओलीले सरकारका विरुद्ध प्रचार आक्रमण डरलाग्दो ढंगले भएको बताउनुभयो । ‘डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण भएको छ । हाम्रा विरुद्ध प्रचार आक्रमण डरलाग्दो गरी छेडिएको छ । तर, हामी वाद–विवादबाट होइन । हामी हाम्रा उपलब्धिबाट, नतिजाबाट जवाफ दिँदै आएका छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
एमसीसी इन्डोप्यासिक रणनीति अन्तरगत होइन
स्थायी समिति र सचिवालयका अधिकांश नेताले एमसीसी इन्डो–प्यासिफिक रणनीतिसँग जोडिएको भनिरहेको बेला प्रधानमन्त्री ओलीले ती नेताहरुलाई सिधा–सिधा जवाफ दिनुभयो । एमसीसीलाई इन्डोप्यासिफिकसँग जोड्नु बेकार भएको र यसमा विवाद गर्न आवश्यक नभएको प्रधानमन्त्री ओलीको भनाई छ । कुनै पनि देशको ‘हिँड्न इन्ट्रेस्ट’ के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्ने उहाँको भनाई छ । उहाँले एमसीसी सम्झौता छिटो संसद्बाट अनुमोदन गर्न ढिलाइ गर्न नहुने पनि बताउनु भयो ।
सीमा विवादमा प्रष्ट जवाफ
प्रधानमन्त्री ओलीले बैठकमा बोल्दै भारतले जारी गरेको नयाँ नक्साका सम्बन्धमा भारतलाई पत्राचार भइसकेकाले संवादमार्फत् समस्याको समाधान गरिने बताउनुभयो । ‘सरकारले कुनै प्रकारको राष्ट्रहितको वेवास्ता गर्ने, कम मूंल्याकन गर्छ कि भन्ने नठाने हुन्छ । यो सरकार देशभक्त, राष्ट्रवादी र सत्यका लागि लड्ने, सत्यका लागि बोल्ने आँट गर्ने सरकार हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भने बोल्ने यो सरकार पहिलो भएको तथ्य पनि राख्नुभयो ।
युगान्तकारी काम भएका छन्
बैठकमा प्रधानमन्त्री ओलीले सरकारका कामबारे पनि सबिस्तार जानकारी गराउनु भयो । केही पनि काम भएन भन्नेलाई कामको सूची पेस गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘काम नभएको होइन । युगान्तकारी काम भएका छन् । प्रचार नभएको हुनसक्छ ।’
एक ताल, एक सुरु भएर चलौं
प्रधानमन्त्री ओलीले नेकपा विशाल पार्टी भएपनि ताल र सुर भने नमिलेको बताउनु भयो । ‘हामीसँग विशाल पार्टी छ । जनताले विश्वास गरेर समर्थन दिएका छन् । हामीसँग काम गर्ने मौका छ, अवसर छ, समय छ । दुई वर्षका कामहरुले हामी काम गर्न सक्छौं भन्ने कुरा देखाएको छ । अलिकति हामीले प्रचारमा ध्यान दिन सकेका छैनौं । अलिकति एक ताल, एक सुर भएर हिँड्न सकेका छैनौं, अलिकति एक आवाजमा बोल्न सकेका छैनौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
बैठकलाई दुनियाँले हेरेको छ
नेकपा केन्द्रीय समिति बैठकलाई दुनियाँले हरिरहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई व्यवस्थित बनाउन आग्रह गरे । ‘यो बैठकलाई दुनियाँले हेरेको छ । हामीले शानदार, व्यवस्थित र उपलब्धीमूलक बनाउन जरुरी छ । म कमरेडहरुसँग त्यही अपेक्षा राख्छु । बैठक अत्यन्तै व्यवस्थित र उपलब्धीपूर्ण हुनुपर्छ । उत्साहपूर्वक छलफलमा सहभागिता जनाऔं,’ ओलीको भनाइ थियो ।
बैठक ढिलाइमा जिम्मेवार छैन
प्रधानमन्त्री ओलीले केन्द्रीय समितिको दोस्रो बैठक अस्वभाविक ढंगले विलम्ब हुन गएको तर आफ्ना कारणले नभएको बताउनु भयो । सरकारको कारणले वा प्रधानमन्त्रीले समय दिन नसकेकाले बैठक विलम्ब भएको भन्ने भ्रम नराख्न उहाँले सदस्यलाई आग्रह गर्नुभयो । विभिन्न कारणले बैठक बस्न ढिलाइ भएको र भविष्यमा यस्तो ढिलाइ नहुने उहाँको भनाई थियो ।
वैचारिक स्पष्टता बिना गन्तव्यमा पुग्न सकिदैंन
बैठकमा प्रधानमन्त्री ओलीले वैचारिक स्पष्टाबिना गन्तव्यमा नपुगिने भन्दै सदस्यलाई पार्टीका दस्ताबेज गहिरो गरी अध्ययन गर्न सुझाउनु भयो । ‘आगामी दिनमा वैचारिक स्पष्टता, गन्तव्यको स्पष्टता बिना हामी अगाडि बढ्न सक्दैनौं । गन्तव्यमा पुग्न पनि सक्दैनौं । त्यसकारण वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु । आँखा खोलेर विगतसँग टाँसिएर होइन, अहिलेको यथार्थसँग विश्लेषण गरेर अगाडि बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
धक्कालाई कसैले गलत बुझ्यो
भ्रमण वर्ष २०२० लाई कोरोना भाइरसको संक्रमणले केही धक्का दिएको विषयमा विपक्षीले गलत व्याख्या गरेको भन्दै संसदमा कांग्रेस सभापति शेरबहादुर देउवालाई जवाफ दिनुभयो । ‘हिजो संसदमा मैले सन् २०२० मा नेपाल भ्रमण वर्षको सुरुवातमा कोरोना भाइरसतिर संकेत गर्दै यो प्रयासमा धक्का पर्न जाने जस्तो देखियो भनेर भनेको थियो, त्यो कसले कसरी बुझ्यो, थाहा भएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीपछि बोल्नुभएका प्रमुख विपक्षी दलका नेता देउवाले कस्तो धक्का, के–को धक्का, कहाँबाट आयो धक्का भन्दै प्रश्न गर्नुभएको थियो ।
यति होल्डिङसँग साइनो छैन
पछिल्लो समय मिडिया र सामाजिक सञ्जालमा सरकारको यति होल्डिङससँगको साइनोलाई लिएर आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले यतिसँग सरकारको कुनै साइनो नरहेको प्रष्ट पार्नुभयो । यती होल्डिङलाई सरकारले लिजमा दिएको जमिन कानुनी प्रक्रिया पुर्याएर दिएको भन्दै उहाँले उक्त आलोचनालाई व्यापारिक घरानाको विवाद भएको बताउनु भयो । यती होल्डिङसँग आफ्नो मितेरी साइनो भएजस्तो गरी प्रचार भएकोमा उहाँले अपत्ति जनाउनु भयो । प्रधानमन्त्री ओलीले यसलाई व्यापारिक घरानाको विवाद एवं ब्याकमेलरको दौडधूपको विषय भन्नुभयो । गोकर्ण रिसोर्ट, दरबारमार्ग, पाथिभराको सार्वजनिक जग्गा यति होल्डिङसलाई कानुन विपरीत नभइ कानूनअनुसार दिएको र यसमा सरकारले कुनै गल्ती नगरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्