जनता टाइम्स

१६ माघ २०७६, बिहीबार १०:१०

नेकपा केन्द्रीय कमिटि बैठक : प्रतिवेदनमाथि आजबाट १५ वटा समूहमा छलफल


काठमाडौं, माघ १६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुने भएको छ । राष्ट्रियसभागृहमा हिजोबाट शुरु भएको बैठकमा आजबाट वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्न लाथिएको हो ।

बैठकमा हिजो अध्यक्षद्वयले राजनीतिक र महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधनको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । महासचिव पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरिएको जानकारी दिनुभयो । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ । राष्ट्रिय सभा गृह, धुम्बाराहीस्थित पार्टी कार्यालय र पेरिसडाडामा रहेको नेकपाको अर्को कार्यालयमा १५ वटा समूहमा छलफल हुनेछ ।

उक्त १५ समूहमा सचिवालय सदस्य रहने छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुने छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ ।

यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ । बैठकमा श्रव्य र दृश्य सङ्कलन गरिने छ । बैठक माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । १७ गते भने दिउसो १ बजेमात्र बैठक शुरु हुनेछ ।