झापा, माघ १६
आफ्नै साथीको हत्या गरेको आरोप लागेका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा बसेका दुला मियाँले साथी मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए ।
मोहिद्दिनको माघ ७ गते हत्या भएको हो । हत्यामा संलग्न दुलालाई बुधबार राति पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरी परिषर काठमाडौँका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिनुभयो । पेसाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी मियासँगै नेपाल आएका थिए ।
प्रहरीका अनुसार उनीहरुले चार दिनका लागि सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा ११४ नम्बरको कोठा बुक गरेका थिए । ७ माघमा मोहिद्दिनको हत्या भए पनि होटल सञ्चालकले ८ माघमा खबर गरेका थिए । मृतक मोहिद्दिन क्यासिनोप्रेमी भएको र उनीसँग विभिन्न क्यासिनोको ‘मेम्बरसिप कार्ड’ रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्